भूकम्पका गम्भीर घाइतेलाई नेपालगञ्ज ल्याउन सुरु, सशस्त्र प्रहरी भूकम्प प्रभावित क्षेत्रतर्फ

शनिबार, कात्तिक १८, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । जाजरकोट केन्द्रबिन्दु भएर गएराती गएको भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपालगञ्ज ल्याउन सुरु गरिएकाृ छ । केही घाइतेलाई नेपालगञ्ज ल्याई उपचार सुरु गरिएको छ । 

भूकम्प जाने वित्तिकै जाजरकोट र रुकुम पश्चिममा मानवीय क्षतिसंगै थुप्रै मानिसहरु घाइते भएकाले प्रारम्भिक उपचारपछि नेपालगञ्ज ल्याउन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

भूकम्पमा परी गम्भीर घाइतेहरुको उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा आवश्यक पूर्व तयारी तथा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

उनका अनुसार भेरी अस्पताल, सैनिक अस्पताल, प्रहरी अस्पतालमा १ सय बढी बेड तयारी अवस्थामा रहेको र पर्याप्त चिकित्सक, नर्सिङ्ग स्टाप र स्वास्थ्यकर्मी समेत तयारी अवस्थामा राखिएको छ । घाइते तथा घाइते आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको प्रमुख जिल्ला अधिकारी पाखेरेलले बताए ।

हेलिकप्टरबाट आउने बिरामीका लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा दुई दुई वटा एम्बुलेन्स तैनाथ गरिएको पोखरेलले बताए । उहाँका अनुसार रगतको मौज्दात र अपुग अवस्थामा फ्रेस रगत आपूर्तिका लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ ।

भूकम्पमा  परी  गम्भीर घाइते जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलंगाका ४८ वर्षिय विमलकुमार कार्कीको भेरी अस्पतालमा पहिलो विरामीको रुपमा उपचार शुरु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बलले भूकम्प प्रभावित क्षेत्रमा विपद् उद्दार टोली पठाएको छ।  टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ५. विन्ध्यावासीनी बाहिनी चन्द्रौटाका प्रमुख डीआईजी अभि कुमार खत्रीका अनुसार भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६५ जनाको विपद उद्दार टोली पठाइएको छ।

लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नम्बर २९ र नम्बर ४२ गणबाट विपद उद्दार टोली खोजी तथा उद्दारका लागि त्यसतर्फ पठाइएको हो।

साथै  महेश्वरी बाहिनी सुर्खेतबाट खोज तथा उद्दारका लागि टोली जाजरकोटमा खटिएको छ । उपत्यका गणबाट पनि टोली तैनाथ छ ।

 

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्