रिगलको कैद मिनाह बदर, थुनामा पठाउन सर्वोच्चको आदेश

बिहीबार, कात्तिक १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । राष्ट्रपतिबाट कैद मिनाहा पाएका बाँकेका योगराज ढकाल (रिगल)  लाई फेरि पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

आज कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो। 

‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने। सरकारको निर्णय संविधान र कानुनका व्यवस्था र अदालतले दिएका फैसलाहरू अनुकूल देखिएन। बाँकी कैद मिनाहा गर्दा वस्तुगत कारण खुलाएर मात्रै गर्नुपर्ने देखियो,’ न्यायाधीश खतिवडाले इजलासमा आदेश सुनाउँदै भने।

यस्तै इजलासले सञ्चारमाध्यमहरूको पनि ध्यानाकर्षण गर्न भनेको छ।

‘अदालतमा विचाराधीन अवस्थामा रहेको यो मुद्दामा अपुष्ट र भ्रमपूर्ण समाचारहरू लेखेको हुँदा विचार पुर्‍याउन ध्यानाकर्षण गराउन भन्नू,’ न्यायाधीश खतिवडाले इजलासमा भने। 

रिगलको बाँकी कैद पनि भुक्तान गर्न पठाउन आदेश दिएपछि उक्त आदेश सुनेर चेतन मानन्धरकी श्रीमती भारती इजलासमै चिच्याएर रोएकी थिइन्। सर्बोच्चले रिगललाई तत्काल पक्राउ गरि थुनुवा पठाउन प्रहरीलाई आदेश दिएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्