मुगु सामूहिक हत्याकाण्डको एक हप्ता, कहाँ पुग्यो प्रहरीको अनुसन्धान?

बिहीबार, कात्तिक १६, २०८०
Neuro hospital Nepalgunj

मुगु । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक बीभत्स हत्या घटना भएको हप्ता दिन पुगेको छ। घटना भएको हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटना कसरी घट्यो के कारण घट्यो र हत्यारा को हो भनेर अझै पत्ता लगाउन सकिरहेको छैन तर घटनाको सघन अनुसन्धान भइरहेको भने प्रहरीले बताउन छोडेको छैन ।

घटना गत ८ गते बुधवारको भए पनि प्रहरीले त्यसको दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् प्रहरीले २८ वर्षीय आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो । 

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्‍याइयो । सोमबारसम्म चार वटै शवको परीक्षण गरि सकिए पनि मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म दीपकले शव नबुझ्ने अड्को थापेपछि शवहरूको दाहसंस्कार हुन सकेको छैन । 

घटनामा जानकारी आए लगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिवार ११ गते देखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटिई अनुसन्धान तीव्र बनाएको थियो ।

जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो । घटनाको प्रकृति,अनुसन्धानको प्रगति बारे नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थल मै आफै पुग्नु भएको छ । उनले भने “अनुसन्धानलाई सघन बनाएर लगिएको छ । सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरेका छौ । हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो चाँडो प्रहरी पुग्नेछ ।

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको हप्ता दिन बितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन । प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरि कै घटना गतिविधिहरूमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेका थिए ।

अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिहरूसँग भेरिफाइ गर्न कम्तीमा १ देखि २ दिनसम्म लाग्छ। यत्रो ४-४ जनाको हत्या भएको छ कयौँ जनासँग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो होइन । 

मुगु सुगम जिल्ला होइन यहाँ अनेकौँ कठिनाइका बाबजुद काम गर्नु पर्छ एक त घटनाको सूचना प्रहरीसम्म ढिला पुग्यो,फोन,नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धान सम्बन्धी क्रियाकलाप गर्न घटना स्थल,सदरमुकाम र आसपास क्षेत्रमा पटक पटक आवत जावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भइरहेको छ प्रनाउ थापाले भने । प्रहरीले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल २ फोन सेट मध्य एक सेट भेटिए पनि अर्को भिजोवल स्माट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उद्देश्य र कारोवारोले हत्या भएको हुन सक्ने अनुमान गरि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्ती बारे ठोस प्रमाण फेला पार्न नसके पनि घटना अनुसन्धान कार्य भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाई छाड्ने प्रहरीले दावी गरिरहेको छ । हप्ता दिन बित्यो घटनाको केही क्लु फेला परेको छैन । के थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान टोली आउन लागेको हो भन्ने पत्रकारहरूले सोधेको प्रश्नमा प्रनाउ वीरेन्द्र थापाले भन्नुभयो कुनै क्लु नभेटाइ केन्द्रीय अनुसन्धान व्युरो (सीआइवी) मुगु झिकाउनु भनेको समय खेर फाल्नु हो । त्यसैले अहिले फिल्डमा खटिएको टोलीले हत्या र हत्यारा बारे केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सीआइवी टोली पनि मुगु आउन सक्छ ।

शवहरूको परीक्षण सोमबारै सकिएकोले अब घटना बारे सूक्ष्म अध्ययन र अनुसन्धान हुने पनि प्रनाउ थापाले जानकारी गराए । यता जिल्ला अस्पताल मुगुमा शव राख्ने कोल्ड हाउस नहुँदा शवहरू गल्दै गएकाले समय मै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा गन्धित फैलिने त्रासमा रहेको चिकित्सक अर्जुन भामले बताए । उनले भने प्रहरीले अनुसन्धान गरिरहेको छ सूक्ष्म अध्ययनका लागि शव परीक्षण पनि भइसक्यो अब आफन्तहरूले शव बुझिदिए राम्रो हुने थियो ।हाम्राकुरा।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्