रेखा शर्माले चार लेन सडक बारे भ्रम पैदा गर्दा मेरो हार भयो: पोखरेल

शनिबार, कात्तिक ११, २०८०
Neuro hospital Nepalgunj

दाङ । तुलसीपुर–घोराही चार लेन सडकका बारेमा प्रतिष्पर्धीले मतदातामा भ्रम सृजना गरेका कारण आफुले गत मंसिरमा भएको संसदीय निर्वाचनमा दाङको क्षेत्र नं.२ बाट पराजय बेहोर्नु परेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले   बताएका छन् ।

तुलसीपुरमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेकी संचार मन्त्री तथा प्रतिष्पर्धी रेखा शर्माले डिजिटल एनेमेसन गरी रंगीचङ्गी भिडियो हालेर भ्रम पैदा गरेको बताए ।

‘अनेत्रको माष्टर प्लान दाङको हो जस्तो पारेर राजनीतिक रुपमा मतदातालाई भ्रममा पारेर निर्वाचन जित्नेहरुले आज एक बर्ष बित्दा पनि केही गरेका छैनन्,’ उनले भनेका थिए ।

जितेर गएको एक बर्ष बित्नै लाग्दा समेत चार लेन सडकमा कालोपत्रे गर्न नसकेर टाला हाल्ने काम मात्रै भइरहेको भन्दै उनले संचार मन्त्री शर्माको आलोचना गरे ।

‘एक बर्ष लगाएर बाटोमा टालो हाल्ने काम त्यो पनि अधुरै छ,’ पोखरेलले भने- ‘हिजो जनताको बीचमा भनेका कुराहरु संझना गर्नका लागि म उहाँलाई अनुरोध गर्न चाहान्छु, के भनिएको थियो र अहिले के गरिँदैछ ।’

नेपाल सरकारको आन्तरिक बजेटबाट तुलसीपुर– घोराही चारलेन बन्छ भन्ने बचन दिएको भएपनि अहिले आएर बजेटमा त्यसबारे कुनै प्रबन्ध नभएको भन्दै एमाले महासचिव पोखरेलले रोष प्रकट गरेका थिए ।

अहिले आएर अब फेरि भारतीय एक्जिम बैंकले बाटो निर्माण गर्ने गरी रकम दिन्छ भनेर सरकारका जिम्मेवार मन्त्रीबाटै सर्वसाधारणमा भ्रम सृजना काम भएको भन्दै त्यो स्वतस् हुने प्रक्रिया भएको महासचिव पोखरेलले बताए ।

जबसम्म चार लेन सडक निर्माणका क्रममा भारतीय पक्षले राख्ने जटिल प्रस्ताबहरु रहिरहन्छन्, तबसम्म फेरि टेन्डर आहवान भएपनि सडक बन्न मुस्लिक हुन सक्ने उनको भनाई थियो ।

प्रेस चौतारी नेपाल दाङका कार्यबहाक अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सुधासुमन ढकाल र सहजीकरण सचिव किरण गौतमले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्