नेपाललाई हराउँदै यूएईले जित्यो त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधि

शुक्रबार, कात्तिक १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । यूएईले नेपाललाई हराउँदै टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालको ब्याटिङ र बलिङ नचलेसँगै हार बेहोरेको हो । 

खेलमा टस जितेर यूएईले बलिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १६२ रन बनायो । नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले २९ बलमा ५० रन बनाए । करण केसीले १७ बलमा अविजित रहँदै २३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले १५ बलमा २० तथा कप्तान रोहित पौडेलले १७ बलमा १८ रन जोडे । नेपालले रनका लागि निकै नै संघर्ष गरेको थियो।

पाँच खेलाडी बोल्ड आउट भएका थिए । यसको मतलब खेलाडीहरु गम्भीर भएर नखेलेको आरोप लागेको छ । आयान अफ्जल खानले ३ तथा अलि नसिर र अहुर खानले २–२ विकेट लिए । 

जवाफमा यूएईले एक बल खेल्न बाँकी छँदै ६ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान मुहम्मद वासिमले २२ बलमा ४५, वृत्तिय अरविन्दले २६ तथा आर्यांश शर्माले २५ रन बनाए । 

नेपालका लागि गुल्झन झा र अबिनाश बोहराले समान २–२ विकेट लिए । यसअघि लिग चरणका दुवै खेलमा नेपाल विजयी भएको थियो। 

यसअघि लिग चरणका सबै खेलहरु मूलपानी क्रिकेट मैदानमा भएका थिए । तेस्रो टिम हङकङ पुछारमा रहेपछि शीर्ष दुई टिम नेपाल र यूएईले फाइनल खेलेका हुन् । 

नेपालले दुवै टिमसँगका चार खेल जितेर अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। यूएईले भने हङकङसँग बराबरी गरेको भए पनि रनरेटमा अगाडि रहेसँगै फाइनलमा पुगेको थियो । 

लिग चरणमा नेपालले यूएईलाई ५ विकेटले र ७ विकेटले हराएको थियो भने हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भएको हो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्