नवजात शिशुलाई बन्धकमुक्त गराउन गएका कोहलपुरका डीएसपीमाथि चक्कु प्रहार

शुक्रबार, कात्तिक १०, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका डीएसपी सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन् ।

कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका तिवारीमाथि थापाले चक्कु हानेका थिए । चक्कु लागेपछि तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।

प्रहरी प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा तिवारीलाई लागेको थियो । चक्कु प्रहारबाट प्रहरी नायब उपरीक्षक तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताए । तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए । 

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । गएराति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनार्इलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन ठीक नभएको बताए। रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्