इजरायलमा मारिएका थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

बिहीबार, कात्तिक ९, २०८०

काठमाडौँ । प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । 

नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले राससलाई जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको  शव ल्याइएको हो ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाडै नेपाल ल्याइने उनले बताए 

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा  ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरु इजरेल गएका थिए ।

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही-६ का आनन्द साह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी रहेका छन् । 

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कबिहीन रहेका छन् । केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्