सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपालले एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा नेपालले यूएईलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो।
मलेसियाको क्वालालाम्पुरमा भएको वर्षाले प्रभावित फाइनलमा नेपाल १९ रनले विजयी भएको हो । फाइनल जितका लागि नेपालले यूएईलाई २८१ रनको चुनौती दिएको थियो । तर वर्षाले खेल बीचमा अवरुद्ध भएपछि ३० ओभरमा झारेर १९८ रनको नयाँ चुनौती दिइएको थियो ।
यूएईले ११ ओभर खेल्दै २ विकेटको क्षतिमा ५० रन बनाएपछि वर्षा भएको थियो । तर वर्षा रोकिएपछि ओभर घटाउँदै अब १९८ रनको नयाँ चुनौती पाएकामा यूएईले २६.५ ओभरमै सबै विकेट गुमाएर १७८ रन बनाउन सक्यो ।
ध्रुव पराशरले सर्वाधिक ५९ रन बनाएको इनिङ्समा नेपाललाई जिताउने क्रममा आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ तथा हेमन्त धामीले १ विकेट लिए ।
यसअघि खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो । कप्तान देव खनालले कप्तानी इनिङ्स खेल्ने क्रममा शतक बनाए ।
उनले ९२ बलमा १०० रनको योगदान दिएका हुन् । त्यसतै उत्तम रंगु थापा मगरले ५७ तथा अर्जुन कुमालले ५५ रन बनाए ।
नेपाल सबै खेल जितेर यू–१९ एसिया कपमा छनोट भएको छ । फाइनलमा पुग्ने दुवै टिम एसिया कपमा छानिने भएकाले यूएई पनि छानिएको छ ।
नेपालले सेमिफाइनलमा जापानलाई डक वर्थ लेविसअनुसार १४३ रनले हराएको थियो । त्यस्तै समूह चरणमा साउदी अरेबियालाई ३०२ रनले, बहराइनलाई ७ विकेटले र इरानलाई २७४ रनले हराएको थियो ।