बडादशैंको टीका लगाइँदिने पूर्व र लगाइ माग्ने पश्चिम फर्कनुपर्ने

मंगलबार, कात्तिक ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज विजया दशमीको मुख्य दिन। आज मान्यजनबाट टीका र जमारासहित  आशिर्वाद लिएर दक्षिणा लिइन्छ। दसैंको लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने छ । 

आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । 

चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनको भनाइ छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । 

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको जनाएको छ । 

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका सदस्य भट्टराई बताउँछन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्