सीमा सुरक्षालाई मजवुत बनाउनमा सहयोग गर्न वडाध्यक्षहरुलाई डीआईजी खत्रीको आग्रह

बिहीबार, कात्तिक २, २०८०

चन्द्रौटा । सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका लुम्बिनीका वडाध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। सशस्त्र प्रहरी बल नं. ५ विध्यावासीनी बाहिनी चन्द्रौटाले चाडपर्वहरुको पूर्वसन्ध्यामा सीमा जोडिएका सीमावर्ती वडाका वडाध्यक्षहरुसँग शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम गरेको हो।

सशस्त्र प्रहरीको ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत  विध्यावासीनी बाहिनीले आयोजना गरेको लुम्बिनी प्रदेशस्थित सीमावर्ती वडाका वडाध्यक्षहरुसँगको अन्तरक्रिया तथा शुभकामना कार्यक्रममा बोल्दै बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभि कुमार खत्रीले सिमा समन्वय समितीको संयोजक वडाध्यक्षहरुनै हुने हुँदा संयोजकको प्रभावकारी भुमिका निर्वाहा गर्न आग्रह गरेका छन् ।

त्यस्तै डीआईजी खत्रीले  वडाध्यक्षहरुसँग सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सीमावर्ती अपराध तथा गैह्र कानूनी क्रियाकलापहरुलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचानलगायत सीमावर्ती ईलाकाका समुदाय तथा बासिन्दासँग निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरुको खोजी र कार्यान्वय गर्ने सम्बन्धमा छलफल गर्दै सशस्त्र प्रहरीलाई दशगजाको नियमित सरसफाइ गर्नमा सहयोग गर्न आग्रह गरेका हुन् ।

सशस्त्र प्रहरीको सीमावर्ती क्षेत्रमा बिओपीको आफ्नै जग्गा समेत नहुदा कार्यालय स्थापना गर्न कठिनाइ भएको विषयमा डीआईजी खत्रीको प्रस्तावमा वडाध्यक्षहरुले कार्यपालिकाबाट निर्णय गराइ सशस्त्र प्रहरीलाई जग्गा उपलब्ध गराउने बताएका छन् । 

लुम्बिनीका सीमवर्ती  जिल्लाका सशस्त्र प्रहरी प्रमुखहरुले तस्करी नियन्त्रणमा वडाध्यक्षहरुलाई सहयोग गर्न आग्रह गरेका थिए। सहभागी भएका लुम्बिनीका ५० बढी  वडाध्यक्षहरुले सशस्त्र प्रहरी कार्यप्रतिको प्रसंशा गर्दै सशस्त्र प्रहरीलाई सहयोग गर्ने प्रतिवद्दता जनाएका छन् ।

बाहिनी परिसरमै गरिएको उक्त  शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रममा बदलिदो सुरक्षा परिवेशमा सीमा सुरक्षा तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र सम्भाव्यता सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो ।

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्