हमासले १२६ जनालाई बन्धक बनाएको इजरायलको दाबी

सोमबार, असोज २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । हाल इजरायलले प्यालेस्टाइनी लडाकू समूहविरुद्द आक्रमणलाई जारी राखेको छ। गत शनिबार हमासले घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरेली सेनाले पुष्टि गरेको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको मृत्यु भएको र करिब १५० इजरेली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरेली अधिकारीहरूले गरेका थिए । 

त्यसयता इजरायली बमबारीमा प्यालेस्टाइनी इलाकामा दुई हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ भने दशौं हजार सैनिकहरू आक्रमणको तयारीका लागि गाजाको सीमामा जम्मा भएका छन् ।

सैनिक प्रवक्ता रिचार्ड हेक्टले पनि हमासले एक्कासी गरेको आक्रमणको जवाफमा सुरु गरिएको सैन्य कारबाहीका क्रममा २८६ इजरेली सैनिकको मृत्यु भएको बताएका छन् ।

इजरायली अधिकारीहरूले दक्षिणी इजरायलमा हमास आक्रमण स्थलबाट शवहरू फेला परेका र पहिचान गरिएकाले ज्ञात बन्धकहरूको सङ्ख्यामा परिमार्जन गरिएको बताएका छन् ।

हेक्टले एक ब्रिफिङमा १२६ जनालाई हमासले बन्धकको रूपमा लगेको ‘पुष्टि’ भएको बताएका छन् । 

यो सङ्ख्या शनिबार १२० बाट बढेको थियो र अधिकारीहरूले आगामी दिनहरूमा यो सङ्ख्या परिवर्तन भइरहने चेतावनी दिएका छन् ।

सेनाले गाजामा छापा मार्दा बन्धक बनाइएका केही व्यक्तिको शव फेला पारेको पनि बताएको छ ।

हमासले इजरायली आक्रमणमा २२ जना बन्धक मारिएको दाबी गर्दै आएको छ । उसले अघोषित इजरायली आक्रमणको जवाफमा बन्धकहरूलाई मार्ने चेतावनी दिएको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्