कर्णालीका लागि हवाई टिकट सर्वसाधारणको पहुँच बाहिर

सोमबार, असोज २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सडक सञ्जाल नपुगेको कर्णाली र सूदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रका सर्वसाधारणलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ । मौसमको प्रतिकुलता र एयरलाइन्स हरूको सीमित उडान भएकाले हवाई टिकटमा ठुलाबडाको मात्रै वर्चस्व हुने गरेको देखिन्छ । 

नेपाल वायुसेवा निगमका उडानहरू अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सहरूले पनि नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधारणलाई टिकट पाउन मुस्किल हुने गरेको हो । 

नेपालगन्जबाट हिमाली क्षेत्रमा उडानका लागि सर्वसाधारणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त बिचौलियालाई । सामान्य ढङ्गले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ ।

सुत्केरी गराउन नेपालगन्ज आएकी लुम्बिनी प्रदेश पूर्वी रुकुमकी टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहेका थिए। नेपालगन्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन। 

रुकुम पूर्व सिस्ने गाउँकी टिका जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगन्ज आउनुभएको थियो । १८ दिनकी सुत्केरी टिकासँग जहाजको टिकट छैन । पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यता उता गरिरहेका छन् । 

उनी भन्छन् “फ्लाइट पनि गारो छ । पाइँदैन । उतै अपरेसन भए पनि ब्लड पाइँदैन । आईसीयू छैन। सेवा सुविधा केही पनि छैन । सके पनि नसके पनि यही९नेपालगन्ज० आउनुपर्ने बाध्यता छ । अब यहाँ यत्तिका समय भइसक्यो फ्लाइट नै पाइँदैन ।’

पूर्वी रुकुम पुथा उत्तर गङ्गा गाउँपालिका वडा नम्बर ८ की निशा सेन बोहरा पनि सुत्केरी गराउन नेपालगन्ज आइन् । जुम्ल्याहा नानीहरूकी आमा निशाको पनि जहाजको टिकट नपाउँदा घर फर्कने टुङ्गो छैन । एक महिना भइसक्यो नेपालगन्ज होटलमा बसेको अझै कति दिन बस्नुपर्ने हो भन्ने पिरलो उनमा पनि देखिन्छ।

 निशाले भनिन् ‘म डेलिभरीको लागि यहाँसम्म आएको हो । पूर्वी रुकुम देखि पश्चिम पठाइदियो। दुई वटा बच्चा छ नेपालगन्ज जानुपर्छ भनेका कारणले यहाँ सम्म आएको । यहाँ आएपछि । अप्रेसन भयो । ४ दिन हस्पिटल बसेको हो । अनि होटलमा एक महिना बस्यौ । अब घर जान लागेको । जहाजको टिकट मिल्दैन भन्नुभएको छ।’

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका वडा नम्बर ४ का विष्णुबहादुर शाही नेपाल वायुसेवा निगमका कम उडान र भएका उडान पनि समयमा नहुने भएकाले समस्या भएको बताउँछन् । कसैलाई भनसुन नगरी हवाई उडानको टिकट पाउन नसकिने अनुभव उनको छ । शाही भन्छन् ‘नेपाल वायुसेवा निगमले रेगुलर उडान गर्ने हो भने पनि निजी एयरलाइन्सको भर पर्नुपर्ने थिएन । नेपाल वायु सेवा निगमलाई सिस्टममा ल्याउन सकिएको छ । मुख्य समस्या यही हो । प्राइभेट भनेको त पैसा कमाउनका लागि नै बनेका संस्था हुन् । मुख्य कुरा टिकट नै पाइँदैन । सामान्य मान्छे गएर टिकट पाउने सम्भावना छैन । च्यानलमा जानुपर्छ। नेताको ज्याक लिएर जानुपर्छ । टिकट पाउन बहुत गारो छ । विमानस्थल छिर्दै गर्दा हातमा टिकट लिएर आउन पाउने अवस्था कहिले आउँला ?’ 

विदेशी टोली आउँदा दिनमा ५ वटा सम्म चार्टर गर्ने निजी एयरलाइन्स हरुले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्दैनन् । कार्गो उडान गर्ने, विदेशी ओसार्ने तर आफूहरू बिरामी हुँदा पनि उडानको टिकट नपाएर उपचार अभावमा ज्यान गुमाउनुपर्ने भन्दै स्थानीयहरू हवाई उडान सेवा प्रति नै आक्रोशित बन्दै गएका छन् । 

नेपाल वायुसेवा निगमले सातामा निकै कम उडान भर्ने र नियमित उडानको समयमा पनि उडान नगरी स्थगित गर्ने भएकाले पनि समस्या भएको धेरैको गुनासो छ । निगमको जहाजको उडान धेरै जसो स्थगित भइरहँदा निजी एयरलाइन्ससँग मिलेमतो भएको हो कि भन्ने शङ्का पनि स्थानीयको छ । निजी एयरलाइन्सहरूले पनि नियमित उडान स्थगित गरेर चार्टर उडान गर्ने गर्दा बल्ल बल्ल टिकट पाएका सर्वसाधरण चर्को भाडा तिर्न बाध्य हुने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्