नेपालगञ्जमा रामलीलाको १ सय ५६ औँ संस्करण मञ्चन सुरु

सोमबार, असोज २९, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्जमा रामलीलाको १ सय ५६ औँ संस्करण मञ्चन सुरु भएको छ ।

भारतको वृन्दावनबाट आएका कलाकार टोलीले राम, सीता, लक्ष्मण, हनुमान र रावणको रामलीला प्रदर्शन  गर्न थालेका हुन्  ।

रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले वृन्दावन धामका जगदिशप्रसाद शर्मा नेतृत्वको २२ सदस्यीय सङ्गीतमय कलाकार टोलीले रामलीला मञ्चन गर्न थालेका जानकारी दिए । उनका अनुसार सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्य रातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावण वध, भरत मिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ । रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ।

नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलीलालाई जोगाइराख्न सहयोग सङ्कलन गरेर पनि रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिए ।

रामलीला शुभारम्भ समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँके जिल्लावासी मिलेर सामाजिक सद्भाव कायम गर्न सफल हुने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्