एक वर्षपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

बुधबार, असार २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं  । एक वर्षपछि नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजदेखि बस्दैछ । एक वर्षपछि पहिलो पटक बस्न लागेको बैठकमा एजेन्डाहरु विभिन्न भए पनि तीभन्दा पनि एक वर्षमा हुन लागेको बैठक नै सबैभन्दा ठूलो एजेन्डा भएको भन्दै केन्द्रीय सदस्यहरु बैठकमा सहभागी हुन आतुर देखिएका छन्। 

हुनत काँग्रेसको विधानमा प्रत्येक दुई महिनामा केन्द्रीय कार्यसमिति बैठक बस्ने उल्लेख छ । तर आम निर्वाचनसँगै सत्ताको संघर्षका कारण बैठक बस्न सकेको छैन । जसका कारण केन्द्रीय सदस्यहरु जिम्मेवारीविहीन छन् । 

सभापति शेरबहादुर देउवाले विधानको मर्ममाथि प्रहार गर्दासमेत संस्थापन इतर समूहले केही गर्न सक्ने अवस्था रहेन । पटकपटक संस्थापन इतरका नेताहरुले केन्द्रीय समिति बैठक डाक्न आग्रह गरेका भए पनि त्यसलाई देउवाले प्राथमिकता दिएनन् । 

यसपालि भने महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुको भेला डाकेपछि भने सभापति देउवा केन्द्रीय कार्यसमिति बैठक डाक्न वाध्य भएका हुन् । 

सामान्यतया आजको बैठकका मुख्य एजेन्डा तय भइसकेका भए पनि त्यसलाई अहिले बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर अन्तिम रूप दिइनेछ । 

एजेन्डामा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँडका बारेमा भने मौन रहेको स्रोतले बताएको छ । उनलाई निलम्बन गर्नुपर्ने पक्षमा सभापति देउवा छैनन् ।

संस्थापन इतरका नेताहरुले भने पक्राउ परेदेखि नै निलम्बन गर्न आग्रह गर्दै आएका थिए । निलम्बन नगर्दा पार्टीले भ्रष्टाचारलाई सघाएको हुने धारणा राख्दै कारबाही गर्न माग गरिएको थियो । यद्यपि भ्रष्टाचारका विषयमा र सरकारमा गएका मन्त्रीहरुको प्रस्तुतिका बारेमा केन्द्रीय समिति बैठकमा ब्यापक चर्चा हुने नेताहरुले बताएका छन् । 

बैठक आज दिउँसो १ बजे सनेपामा बस्ने भएको हो।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्