दसैँ आएसँगै नेपालगञ्ज नाकाबाट घर फर्किने क्रम तीब्र, भोलिदेखि रामलिला

शनिबार, असोज २७, २०८०
Neuro hospital Nepalgunj

शनिबार, असोज २७, २०८०

नेपालगञ्ज । भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका नेपालीहरू दसैँ आएसँगै घर फर्किने क्रम तीब्र भएको छ । नेपालगन्जस्थित जमुनाह नाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन लर्को लाग्ने गरेको छ ।

दैनिक दुई हजारदेखि दुई हजार पाँच सय जनासम्म भारतमा काम गर्ने नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । प्रहरीका अनुसार केही दिनयता भारतमा काम गरी घर फर्किने नेपालीहरूको सङ्ख्या ह्वात्तै बढेको छ । बिहान ७  बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ । दसैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमा नाका जमुनाहमा लर्को लाग्ने गर्दछ ।

दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाटका घटना हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको प्रहरीले जनाएको छ । प्रहरीका भारतबाट घर फर्किने नेपालीलाई लक्षित गरी जमुनाह नाकामा नेपाल प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेर काम गरिरहेको छ ।

पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान लगायत जिल्लाबाट भारतमा रोजगारीका लागि नेपालीहरु पुग्ने गरेका छन् ।

भोलिदेखि रामलिला

डेढ सय बर्षदेखि नेपालगञ्जमा सञ्चालन हुँदै आएको रामलिला यसपाली भोलिदेखि शुरु हुने भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्ज–१३ रामलिला मैदानमा रामलिला मञ्चन हुँदै आएको छ ।

रामलिलाको १ सय ५६औँ संस्करणका लागि आवश्यक तयारी पूरा भइसकेको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिए । १ सय ५३ र १ सय ५४औँ संस्करण कोरोना महामारीका कारण परिवर्तन गरिएको थियो । असत्यमाथि सत्यको विजयको प्रतिकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ७ बजेदेखि १२ बजेसम्म रामलिला मञ्चन गरिन्छ ।

भारत वृन्दावन धामका जगदिशप्रसाद शर्मा नेतृत्वको संगितिक कलाकार टोली नेपालगञ्ज पुगिसकेको सञ्चालक समितिले जनाएको छ ।  अध्यक्ष कानोडियाका अनुसार भोलि दिउँसो २ बजेदेखि रामलिला मैदानबाट शोभा यात्रा  निकालिनेछ भने साँझ ८ वजे नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलिला महोत्सवको समुद्घाटन गर्नेछन् । रामलिलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ।

नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलिलालाई जोगाई राख्न सहयोग सङ्कलन गरेर पनि रामलिला महोत्सव गर्दै आएको प्रचार मन्त्री आदित्य गुप्ताले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्