कांग्रेसका कार्कीलाई समर्थन गरेका ४७ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

शुक्रबार, असोज २६, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । नेपाली कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै कांग्रेस र नेकपा एमालेका ४७ सांसद कोशी प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका ८ जना प्रदेशसभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन् ।

प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन गर्दै गर्दा कार्कीसहितका बहुमत लिएर सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् । 

कार्कीको समर्थनमा हिजो ४७ सांसदले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए । 

तर कांग्रेसकै ती विद्रोह गरेका आठ सांसदसहितको हस्ताक्षरसहित कांग्रेसकै संस्थापन पक्षको बलमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेश गरेका छन् । 

जसका कारण आज दिनभर कार्कीलाई दाबी फिर्ता लिन दबाब परेको छ । तर कुनै हालतमा फिर्ता नलिने उनले अडान राखेका छन् । कार्की कांग्रेसको संस्थापन इतरको पक्ष डा। शेखर कोइराला निकटका हुन् । 

कोइरालालाईसमेत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि दबाब दिएका छन् । 

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पार्टीको ह्वीप नलाग्ने भएसँगै कार्कीले दाबी फिर्ता नलिने अडान राखेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्