कोशी सरकारका बारेमा राप्रपाको तटस्थ बस्ने निर्णय

शुक्रबार, असोज २६, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले कोशी प्रदेश  सरकारका बारेमा तटस्थ बस्ने निर्णय गरेको छ । आज बिहान बसेको आकस्मिक केन्द्रीय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा कोशी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्ने लगायतका विषयमा निर्णय लिन उक्त बैठक बसेको थियो । 

सो बैठकपछि कोशी सरकार निमार्णका बारेमा सो बैठकले आधिकारिक धारणा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हालका लागि तटस्थ बस्ने निर्णय भएको बताए ।

‘आवाश्यक परेको खण्डमा अर्को निर्णयमा जान सकिनेछ तर अहिले चाँही भने कोशी सरकारका बारेमा तटस्थ बस्ने निर्णय भएको छ,’ बैठक पछि उनले भने ।

कोशी सरकारको भावी नेतृत्वका लागि नेकपा एमालेका समर्थनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधर केदार कार्की र सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो दाबी प्रस्तुत गरेका छन् । 

आज प्रदेश प्रमुख परशुराम खापुङले ती दुईमध्ये एक जनालाई नियुक्त गर्दैछन् । जुन नियुक्ति बारेमा राप्रपाले पनि आफ्नो धारणा बनाउन बैठक बोलाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्