आज केदार वा इन्द्रमा को बन्ला कोशीको नयाँ मुख्यमन्त्री ?

शुक्रबार, असोज २६, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । आज कोशी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाउँदै छ । भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता केदार कार्की दुवैले गरेको दाबीमा आज टुंगो लाग्ने भएको हो । 

प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको टुंगो लगाउने छन् । आङ्बोले गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ४ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् । उनले शुरुआतमा हस्ताक्षर बुझाएका थिए।

त्यसपछि कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ८ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४७ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आङबोले बुझाएको पत्रमा राखिएको आफ्नो समूहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समूहले प्रतिवाद गर्दै आएको छ। सो समूहले आङबोले बुझाएको हस्ताक्षर नक्कली भएको भन्दै अस्वीकार गर्दै आएको छ ।सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेश गर्दा कांग्रेसका सबै २९ सांसदको हस्ताक्षर छ । तर कांग्रेसकै डा शेखर कोइराला पक्षका ८ सांसदले कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् । 

एउटै दलका सांसदको हस्ताक्षर दुवैतर्फको उम्मेदवारीमा प्रयोग भएको छ । यस्तोमा अब प्रदेश प्रमुख परशुराम खापुङले कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने संकट देखिएको छ ।

यद्यपि कार्कीलाई हस्ताक्षर बुझाउने बेलामा ती आठ जना सांसदहरु सशरीर उपस्थित भएर कार्कीका पक्षमा हस्ताक्षर गरेपछि उनको पक्षमा आधिकारिकता आउने सम्भावना प्रवल छ । 

सो आन्तरिक विवादका कारण उत्पन्न परिस्थितिका बारेमा परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराएका छन् । जसअनुसार कोशीमा आज १० महिनाको अवधिमा पाँचौँ मुख्यमन्त्री नियुक्त हुनेछन् । 

एमालेले अप्रत्याशित तरिकाले कार्कीलाई समर्थन गरेपछि केन्द्रमासमेत सत्ता समीकरण बललिने शंका पनि भइरहेको छ । तर मध्यावधिमा नजाने उपाय स्वरुप एमालेले कांग्रेसका कार्कीलाई समर्थन गरेको हो । 

यही स्थितिमा कार्की नै मुख्यमन्त्री हुनेछन् । तर आज कांग्रेसको बैठक बस्दै गर्दा के निर्णय गर्छ भन्ने पनि महत्वपूर्ण छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्