राप्तीसोनारीले स्थानीयलाई निस्सा वितरण कार्य अघि बढाउँदै

बुधबार, असोज २४, २०८०
Neuro hospital Nepalgunj

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाले वडा नं. ४ मा ऐलानी जग्गाको निस्सा वितरण गरी नापजाँच सुरु गरेको छ । राप्तीसोनारीले भूमि आयोगको सहयोगमा वडा नम्बर ४ राजपुर टोलका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेर जग्गाको नापजाँच सुरु गरेको हो । 

उक्त वडाका वडाध्यक्ष मिनराज खड्का(सन्तोष), राप्तीसोनारी गाउँपालिका अन्तर्गत भूमि आयोगका अमिन शेरबहादुर रोकाको नेतृत्वमा टोली, ईलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज वरिष्ठ सई लक्ष्मीप्रसाद आचार्य, वडा नम्बर ४ का वडा सचिव होम सूर्य केसीलगायतको उपस्थितिमा राप्ती सोनारी गाउँपालिकाका तप्तबहादुर पौडेलले ऐलानी जग्गाको कित्ता काट र नक्सांकनकार्यको औपचारिक सुरुवात गरे थिए । उक्त कार्यक्रममा अध्यक्ष पौडेलले तीव्र गतिमा जनताको जग्गाको काम गर्न प्रविधिकहरुलाई निर्देशनसमेत दिएका थिए । 

पालिका अध्यक्ष पौडेलले सबै वडाका जनतालाई लालपुर्जा दिनसके अहिलेको जनप्रतिनिधिको निकै ठूलो उपलब्धी हुने बताउँदै भने, ‘कुनै ठाउँमा समस्या आए तत्काल वडा र पालिकाले सहजीकरणमार्फत्समस्यालाई सुल्झाइन्छ र काम अगाडि बढाइन्छ ।’

वडाध्यक्ष खड्काका अनुसार राजपुर टोलका १ सय ४० जना स्थानीयलाई निस्सा वितरण गरिएको छ । आगामी फागुनसम्म वडाको सबै ऐलानी जग्गाको काम सक्ने गरी काम अघि बढेको उनले बताए । 

‘नयाँ वर्ष २०८१ सम्ममा सबैलाई लालपुर्जा दिने हाम्रो उद्देश्यहो । त्यसको लागि तीव्र गतिमा काम हुनेछ,’ खड्काले भने ।  राप्तीसोनारीले जग्गा नापजाँच गर्दा आईपर्ने समस्या समाधानका लागि एउटा टिमसमेट बनाएको छ । वडा अध्यक्ष खड्काको संयोजकत्मा वडा सदस्यहरु, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि गरी ११ सदस्यीय सहजीकरण समितिसमेत निर्माण गरिएको छ । 

यसअघि पनि राप्तीसोनारी गाउँपालिकाले पहिलोपटक गाउँ ब्लक जग्गाको लालपूर्जा वितरण गरेको थियो । पालिकाले यस अघी वडा नम्बर १ मा गाउँ ब्लक जग्गा  अन्तर्गत  ४७ घरधुरीलाई लालपूर्जा वितरण गरेको थियो ।

वडा कार्यालयले पालिका अध्यक्ष पौडेल, नापी कार्यालय बाँकेका प्रमुख सहदेश सुवेदी लगायतको उपस्थितिमा स्थानीय बासिन्दालाई लालपूर्जा वितरण गरेको थियो भने अन्यलाई पनि लालपूर्जा वितरण गर्ने प्रक्रिया अघि बढेको छ । 

उक्त जग्गाको लालपूर्जाका लागि २०७२ सालदेखि प्रक्रिया अघि बढाइएको थियो । सबै प्रक्रिया पूरा गरेर नापीले स्थानीय वासिन्दालाई उक्त जग्गाको पूर्जा दिएको हो । त्यस्तै राप्तीसोनारीको वडा नम्बर ३ मा पनि निस्सा वितरण सुरु गरिएको छ । राप्ती सोनारीको वडा नम्बर ३ मामात्रै भूमिहीन दलित २६, भूमिहनि सुकुम्वासी ३९ र अव्यवस्थित बसोबास गर्ने ७ सय ९० जना रहेका छन् । उनीहरुका लागि निस्सा वितरण काम सुरु भएको राप्तीसोनारीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्