इजरायल- हमास लडाइँमा हालसम्म १७ सय बढीको ज्यान गयो

बुधबार, असोज २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाँकु समूह हमासबीचको लडाइँमा हालसम्म १७ सय बढीको ज्यान गएको छ।

गत शनिबार हमासले इजरायल एक्कासी आक्रमण गरेपछि प्रतिकारमा उत्रिएको इजरायलले हमासविरुद्द धावा बोलिसकेको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार हालसम्म १७ सय ३० जनाको ज्यान गइसकेको जनाएका छन् । 

इजरायलमा मात्रै ९०० जनाको ज्यान  गएको छ। जसमा ४० जना नवजात बच्चासमेत हुन् । २३ सय मानिस घाइते भएका छन् । 

त्यस्तै गाजापट्टीमा १४० बालबालिकासहित ८३० जनाको ज्यान  गएको छ । जसमा १२० जना महिला पनि हुन् ।  त्यसैगरी ३ हजार ७२६ जना घाइते भएका छन् । 

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई टेलिफोन सम्पर्क गरेर युद्धको अवस्थाबारे बुझेका छन् । 

त्यसपछि बाइडेनले मंगलबार राति अबेर ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिका इजरेलको साथमा रहेको बताए । उनले इजरेलमा एक हजार जनाको नृशंस हत्या गराएको पनि बताएका छन् । 

जसमा १४ अमेरिकी नागरिक पनि मारिएका छन्। इजरेलसँग साथ रहेको देखाउन अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिङ्केन आज इजरेल जाँदैछन् । 

त्यस्तै प्रधानमन्त्री नेतान्याहूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी युद्धबारे जानकारी दिएका छन् ।  यस लडाइँमा १० जना नेपालीको पनि ज्यान गएको छ।

 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्