एमाले सुदूरपश्चिमको अध्यक्षमा चार जनाको उम्मेदवारी

मंगलबार, असोज २३, २०८०
Neuro hospital Nepalgunj

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको निर्वाचन आज हुँदैछ। प्रदेश अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन्।

अध्यक्षका लागि कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रदेशका निवर्तमान उपाध्यक्ष तिमिल्सिना, जैसी र साउद अछामका हुन भने सिंह कञ्चनपुरका हुन् ।

प्रदेशका निवर्तमान अध्यक्षको दामोदर भण्डारीको समर्थनमा तिमिल्सिना निर्वाचनमा होमिएका छन् । त्यस्तै जैसीलाई पोलिटब्युरो सदस्य कर्ण थापा लगायतको समर्थन रहेको बताइएको छ।

सोमबार राति सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार आज साँझ ५ बजे मतदान हुनेछ । सोमबार  राति ८ बजेबाट उम्मेदवारको दर्खास्त फारम वितरण गरिएको थियो । 

तर उनीहरुले अडान नछाडेपछि अधिवेशन लम्ब्याएर नराख्ने भन्दै प्रकृया शुरु गरिएको हो ।अधिवेशनअन्तर्गत प्रदेश कमिटी चयनका लागि ९ वटै जिल्लाका गरी ६ सय ७५ जना प्रतिनिधि छनोट भएका छन् । सबैभन्दा धेरै प्रतिनिधि बाजुराबाट छनोट भएका छन्। 

दुईवटा प्रदेश निर्वाचन क्षेत्रमात्र रहेको बाजुराबाट १ सय २८ जना प्रतिनिधि चयन भएका छन् ।  सबैभन्दा धेरै १० वटा प्रदेश निर्वाचन क्षेत्र र १३ वटा स्थानीय तह रहेको कैलालीका १ सय १७ जना प्रतिनिधि छन् ।  

यस्तै कञ्चनपुरबाट ६३, बैतडीबाट ६८, दार्चुलाबाट ५३, अछामबाट ५४, बझाङबाट ४८, डोटीबाट ४१ र डडेल्धुराबाट १८ जना प्रतिनिधि रहेको अधिवेशन आयोजक कमिटिले जनाएको छ । 

यसपटक महासचिव आफैँ प्रदेश अधिवेशनमा खटिएकाले आफूले चाहेजस्तो व्यक्तिलाई प्रदेश अध्यक्ष बनाउने तयारी गरिरहेको स्रोतको दाबी छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्