सासुको हत्या आरोपमा बुहारी पक्राउ

आइतबार, असोज २१, २०८०
Neuro hospital Nepalgunj

सल्यान । सल्यानमा बुहारीले सासुको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

गत असोज १८ गते बिहान घरभित्रै खाद्यान्न राख्ने काठको भकारोमा मृत अवस्थामा फेला परेकी जिल्लाको सिद्धकुमाख गाउँपालिका ४ खार्पनकी ४९ वर्षीया गणेशी रोकाको हत्याको गरेकी १८ वर्षीया बुहारी सर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो।

घरभित्रै खाद्यान्न राख्ने भकारीमा मृत भेटिँदा घटना शंकास्पद भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा र पोष्टर्माटम रिपोर्टमा समेत हत्या भएको खुलेपछि सर्मिलालाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नविन कार्कीले बताए ।

पक्राउ परेकी सर्मिलालाई अहिले प्रहरीको हिरासत कक्षमा राखिएको र जिल्ला अदालतबाट म्याद थप गरिएको प्रनाउ कार्कीले जानकारी गराए ।

पोष्टमार्टम रिपोर्टमा मृतक महिलाको टाउको, छातीमा चोट लागेको मात्र नभइ घाँटीमा निलडाम देखिएको उनको भनाइ छ ।

‘सर्मिलाले गत वैशाखमा मात्र गणेशी रोकाको छोरा २१ वर्षीय अमर रोकासँग बिहे गरेकी थिइन्।

पक्राउ परेपछि सर्मिलाले सासुले दैनिकजसो गाली गलौज गरेकै कारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्वीकार गरिसकेकी छिन्,’ उनले भने, ‘आफूले मारेर कसैले थाहा नपाओस् भनेर नै खाद्यान्न राख्ने काठको भकारीमा लुकाएको समेत उनले स्वीकार गरेकी छन् । ’

१५ गतेदेखि आमा हराएको भन्दै गणेशी रोकाकी छोराछोरीले प्रहरीमा उजुरी दिएपछि खोज्दै जाँदा खाद्यान्न राख्ने भकारीमा १८ गते बिहान गन्हाउने तथा गल्न थालेको अवस्थामा शव फेला परेको र १५ गते नै सर्मिलाले सासुको हत्या गरेको प्रहरी नायब उपरीक्षक कार्कीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्