आजदेखि देशैभर चाडपर्व लक्षित 'सुपथ मूल्य पसल' सञ्चालनमा, कहाँ-कहाँ छन् उपत्यका बाहिर?

आइतबार, असोज २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आजदेखि  सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरीमा ३५ स्थानमा बिक्रीस्थल राखिएको छ। 

जसअनुसार काठमाडौँ उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङमा सहुलीयत सुपथ मूल्य पसल राखिएका छन् ।

यसैगरी, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण सुपथ मूल्य पसल राखिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

सुपथ मूल्य पसल सञ्चालनका लागि सरकारले हालै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको थियो भने साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ ।

कम्पनीले सञ्चालनमा ल्याएका बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो,  र सबै प्रकारका तेलमा प्रतिकिलो÷प्रतिलिटर सात रूपैयाँ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो १० छुट पाउनेछन्।

उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ।

खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्नेछ । कम्पनीले भोलि थापाथालीस्थित बागमती प्रादेशिक कार्यालयका साथै देशभरका बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने जनाइएको छ । 

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिने गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको हो । सस्तो पसल आगामी मंंसिर ३ गते सम्म सञ्चालनमा आउँने छ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्