नेपालगञ्जको निषेधाज्ञा यथावत, रातिको कर्फ्यु कायमै

शनिबार, असोज २०, २०८०
Neuro hospital Nepalgunj

शनिबार, असोज २०, २०८०

बाँके । बाँकेको नेपालगञ्जको अवस्था सामान्य बन्दै जान थालेपछि नेपालगञ्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राती लगाइएको कर्फ्यु खुकुलो बनाउँदै लगिएको छ ।

सामाजिक संजालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । दिउँसो कर्फ्यु  हटाएर निषेधाज्ञा लागू गरिएको छ । असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइएको थियो भने राती कर्फ्यु कायमै राखिएको छ । निषेधाज्ञा र कफ्र्युको समयावधि छोट्याउँदै लगिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज विहान एक सूचना जारी गर्दै विहान ९ बजेदेखि राती ८ बजेसम्म पाँच जना भन्दा बढी भेला भई प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी रहेको उल्लेख गरेको छ । राती ८ बजेदेखि विहान ४ बजेसम्म पूर्ववतरुपमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कर्फ्यु आदेश भने जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । 

दिउँसोको समयमा कर्फ्यु हटे पनि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र विहान ९ बजेदेखि राती ८ बजेसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

हिन्दु  र मुस्लिम  समुदायबीच भएको विवादले मंगलबार दिउँसोदेखि केही दिन अशान्त रहेको नेपालगञ्ज अहिले शान्त बनेको छ । दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कफ्र्यु आदेश जारी गरिएको थियो । 

सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् १६ गते ओमकार परिवार हिन्दु समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएको भन्दै कर्फ्यु  आदेश जारी गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्