धनी कसरी हुने !

शुक्रबार, असोज १९, २०८०
Neuro hospital Nepalgunj

एकादेशमा एकपटक जनतालाई धनी कसरी बनाउने‚ देश विकास कसरी गर्ने भनी बडो तामझामका साथ गोलमेच सम्मेलनको आयोजना गरिएछ । देशभरका नामुद विज्ञहरु‚ विश्वका ख्यातिप्राप्त परामर्शदाताहरु‚ सत्तापक्ष र प्रतिपक्षका घागडान नेताहरु सबै एकै थलोमा जम्मा भएर गहन छलफलमा जुटेछन् । जनताहरु भने त्यसैको घोषणा सुन्न ब्यग्र प्रतिक्षामा बसेछन्। 

सम्मेलनको शुरुमै एक जना अधिकारवादी विज्ञ जनकपुरमा चौरीपालन गर्न किन नपाउने भनी कुर्लिएछन् । त्यसपछि अर्का विज्ञले देशलाई धनी बनाउन सगरमाथाको टुप्पोमा हवाईगिरान निर्माण गरिँदा त्यहाँ संसारभरबाट जहाज आउने र त्यसैबाट देश उभो लाग्ने भनी कार्यपत्र पेश गरेछन् । त्यसपछि अर्का परामर्शदाताले बर्खे भेल जम्मै थुनेर त्यसबाट बिजुली निकालेर बेचे देश छिट्टै धनी हुन सक्छ भनी सल्लाह दिएछन् । सत्ता पक्षले चाँहि देश उबडखाबड भएकाले हिमाल र पहाडलाई सम्याएर समतल बनाउन सरकारले पहाड खार्ने योजना अगाडि सारेको बतायो । लगत्तै विपक्षी दलले एक कदम अगाडि बढेर कोशी‚ गण्डकी र कर्णाली नदीलाई एकिकरण गरेर कंचनजंघादेखि दार्चुलासम्मा हिमालयको शिरैशिर एकिकृत नदीलाई बगाई जल-पर्यटन प्रबर्द्धन गर्ने पार्टीको बटमलाइन भएको अडान राखेछ । 

बहस गर्मागर्मी‚ रोचक र घोचक हुँदै गयो । सँगसँगै समय पनि घर्किंदै गयो । सम्मेलन क्रमशः पातलिंदै जान थाल्यो । भर्खरै बिहे गरेका झ्याम्पाङ दाई पनि परिवार पाल्न साउदी हानिए। तर, दलहरु टसमस भएनन्‚ विज्ञहरुले पनि कुनै अचुक उपाय सुझाउनै सकेनन् । सम्मेलन अन्तहिन बहसमा फसिसकेको थियो‚ समयले नेटो काटिसकेको थियो । झ्याम्पाङ दाईको फर्किने अत्तोपत्तो केही थिएन । त्यसैबेला सम्मेलन सभामा कहीँबाट खबर आयो-झ्याम्पाङ दाईको नाती जन्मियो अरे भनेर; अनि हतार–हतार जर्याकजुरुक उठेर सभाका सबै जनाले एकै स्वरमा भने अरे; "झ्याम्पाङ दाई बढ्दै–बढ्दै बा'बाट पनि हजुरबा भैसक्नुभो‚ उहाँ उमेरको साथै सन्तानको हिसाबले पनि धनी हुनुभयो । यो सम्मेलनकै दौरान यसरी नै सबै जनता धनी बनिसके । त्यसैले हाम्रै कारण देश र जनता धनी भइसकेको सगौरब घोषणा गर्दछौं।"  तर, त्यो घोषणा गर्ने बेलामा ताली बजाउनेहरु भने कोही पनि थिएनन् ।

यो कथा पढ्नेलाई फूलको माला सुन्नेलाई सुनको माला यो कुरा तात्तातै नेताको कानमा जाला !

डि.वी.।(लघु कथा)

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हस्तले खोजेको 'जुहार'
शुक्रबार, असोज १९, २०८०