नेपालगञ्जमा सद्भाव कायम राख्न मेयर प्रशान्त बिष्टको अपिल!

मंगलबार, असोज १६, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त बिष्टले सद्भाव कायम राख्न अपील गरेका छन् । मेयर बिष्टले  सामाजिक सञ्जालमार्फत अपील सार्वजनिक गर्दै भनेका छन्, ‘सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुताको नमूना शहर नेपालगञ्जलाई शान्त, संयम र सुरक्षित राख्न सम्पूर्ण नेपालगञ्जबासी सजग हुन आवश्यक छ।’

उनले अपीलमा अगाडि लेखेका छन्, ‘नेपालगञ्जको सामाजिक एवम् धार्मिक विविधतायुक्त सुन्दरतामा आघात पुर्याउने क्रियाकलाप कहीँ कसैबाट हुनु हुँदैन । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबैले आ-आफ्नो ठाउँबाट योगदान गरौँ ।’

अन्त्यमा उनले लेखेका छन्, ‘एक अर्को धार्मिक सम्प्रदायप्रति समभाव र समानुभूति राखी धार्मिक एवम् जातिगत एकताको सूत्रलाई बलियो बनाउन सम्पूर्ण नेपालगञ्जबासीलाई हार्दिक अपील गर्दछु ।’

कर्फ्युकै बीचमा सेना परिचालन 

कर्फ्युको उलंघन गर्दै दुवै समूह सडकमा निस्केर प्रदर्शन गर्दै झडप भएपछि नेपालगञ्जमा सेना परिचालन गरिएको छ । दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको बाँके प्रशासनले जनाएको छ।

नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्याँस प्रहार गरेको थियो । त्यसक्रममा झडप हुँदा ८ जना घाइते भएको बताइएको छ । 

प्रशासनले दिउँसो १ बजेदेखि अनिश्चितकालिन कर्फ्यू लगाएको हो। अहिले झडप रोकिएको छ । ठूलो संख्यामा सेना ,प्रहरी र सशस्त्र प्रहरी नगरका गल्ली–गल्लीमा परिचालन भएका छन् ।

असोज १४ गते सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् आज ओमकार परिवार हिन्दू समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगयातका विरोध प्रदर्शन कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएकाले कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्