नेपालगञ्जमा बृहत् सद्भाव र्‍याली

मंगलबार, असोज १६, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्जमा आज बृहत  सद्भाव र्‍याली निकालिएको छ । नेपालगञ्जमा केही दिन यता बढेको धार्मिक तनावलाई मध्यनजर गरी नेपालगञ्जमा विहान सद्भाव र्‍याली निकालिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा हिजो बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरे अनुसार विहान सद्भाव र्‍याली निकालिएको हो ।

सद्भाव समितिको सहकार्यमा जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गरेको सद्भाव र्‍यालीमा राजनीतिक दल, धर्मगुरु, नागरिक समाज एवम् नागरिकहरुको सहभागिता थियो ।

नेपालगञ्जको बिपी चौकबाट निस्किएको र्‍याली धम्बोझी पुगेर समापन भएको थियो । त्यसक्रममा बोल्दै नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट, हिन्दु धार्मिक गुरु एवम् बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धार्मिक गुरु अब्दुल जब्बार मन्जरीले नेपालगञ्जमा सबै धर्म सम्प्रदाय र जातजाती मिलेर बसेकाले यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए । 

नेपालगञ्जमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न र्‍याली निकालिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो । नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायवीच कुनै किसिमको द्वेष नरहेको सन्देश दिन सद्भाव र्‍याली निकालिएको प्रजिअ आचार्यको भनाई छ। 

सामाजिक सञ्जालमा आफ्नो धर्म र आस्थामा आघात पुग्ने गरी टिप्पणी गरिएको भन्दै नेपालगञ्जमा आइतबार मुस्लिम युवाहरुले प्रदर्शन गरेका थिए । त्यसपछि जिल्ला प्रशासनले उच्छृंखल गतिविधि हुने सम्भावनालाई मध्यनजर गर्दै धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो ।

मुस्लिम समुदायले प्रदर्शन गरेपछि हिन्दु समुदायले पनि आज नेपालगञ्जमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्