नेपालगञ्जको इ-रिक्सा व्यवस्थापनका विषयमा यस्तो भन्छन् ठकुरी

मंगलबार, असोज १६, २०८०
Neuro hospital Nepalgunj

बाँके । नेपालगञ्जमा इ–रिक्सा व्यवस्थापनमा केही समस्या भएपनि त्यहाको इ–रिक्सा व्यवस्थापनलाई प्राथमिकता दिएर काम अगाडि बढिरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले  इ–रिक्सा व्यवस्थापन गर्न कार्यविधि नै बनाएर काम गर्दै आएको छ । उपमहानगरपालिकाले इ–रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धि कार्यविधि–२०७८ निर्माण गरेर व्यवस्थापनमा अग्रसरता देखाउँदै आउँदा कार्यविधि अनुसार व्यवस्थापनको जिम्मेवारी पाएको इ–रिक्सा व्यवस्थापन कम्पनी प्रालिले पछिल्लो समय सक्रिय भएर काम गरिरहेको छ ।

इ–रिक्सा व्यवस्थापन कम्पनी प्रालिका अध्यक्ष कुमार सिंह ठकुरीले विगतमा देखिएका कमी-कमजोरीबाट सिक्दै नेपालगञ्जमा इ–रिक्सा व्यवस्थापनका लागि चरणवद्धरुपमा काम गरिरहेको बताउँछन्  ।

पहिलो चरणमा चालकहरुलाई अस्थायी अनुमती-पत्र वितरण गर्ने, नगरपालिकामा सूचिकृत गर्ने, बिमा अनिवार्य गर्ने र अभिमुखीकरण कार्यक्रम कम्पनीले गरिरहेका्े अध्यक्ष ठकुरी भन्छन् ।

ठकुरी भन्छन् -‘हामीले कुनै गैरकानुनीरुपमा काम गरिरहेका छैनौं । उपमहानगरपालिकाले बनाएको कार्यविधि अनुसार हामीले खुला बोलपत्रमार्फत ठेक्का पाएर काम गरिरहेका छौं । हामीले रिक्सा चालक र यात्रीको सुरक्षालाई ध्यानमा दिएर काम गरिरहेका छौं यसमा सबैको सहयोगको आवश्यकता छ।'

ठकुरीका अनुसार नगरमा करिब १० हजार इ–रिक्सा छन् । तिनको व्यवस्थापन आफैंमा चुनौतीपूर्ण रहेको उनको भनाई छ । उपमहानगरपालिकाले इ–रिक्सा व्यवस्थापनको लागि भाडादर निर्धारण गरेता पनि कार्यान्वयन हुन नसकेको उनको भनाई थियो । ठकुरीका अनुसार हालसम्म २७०० इ–रिक्सा मात्र उपमहानगरपालिकामा सूचिकृत भएका छन् ।

पछिल्लो समय केही सञ्चार माध्यममा इ–रिक्सा व्यवस्थापनको विषयलाई लिएर गलत समाचार आइरहेको भन्दै उनले त्यसमा सत्यता नभएको अध्यक्ष ठकुरी बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्