रुपन्देहीबाट १० लाख भारुसँगै पक्राउ पर्नेको साथबाट थप २ लाख भेटियो

सोमबार, असोज १५, २०८०

भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीस्थित भैरहवा भन्सार अगाडिको चेकपोस्टबाट अवैध १० लाख भारतीय रुपैयाँसहित पक्राउ गरेका तीन जना मध्ये एकबाट थप २ लाख रुपैयाँ फेला पारेको छ।

गए राति ९ बजे चेकजाँचका क्रममा सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म बिओपी डण्डाका इन्चार्ज डीएसपी किशोर श्रेष्ठको कमान्डको टोलीबाट १० लाख भारुसहित पक्राउ परेका  जनाको साथबाट खानतलासीका क्रममा भारतको सुनौलीका ३८ वर्षीय राजु कौशलको साथबाट ४ वटा ५ सय भारुको बण्डल गरि थप २ लाख फेला पारेको सशस्त्र प्रहरी बल नं. २७ गण रुपन्देहीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल नं.२७ गणका अनुसार चेकपोस्टमा चेकजाँचका क्रममा त्यतिबेला कौशलको साथबाट ९ लाख भारु, गोरखपुरको हमायुपुर दक्षिण गोरखपुरका ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठीबाट जनही ५० हजार भारु बरामद भएको हो।

भारतबाट नेपाल आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्दा नेपालमा प्रतिवन्ध लगाइएको ५ सय भारु नोटका २० वटा बन्डल गरि १० लाख रुपैयाँ  फेला पारेपछि पक्राउ गरेको सशस्त्र प्रहरी रुपन्देहीले जनाएको छ।

खानतलासीका क्रममा फेला परेको थप २ लाख र गए राति बरामद गरिएको १० लाख रुपैयाँ र उनीहरुले प्रयोग गरेको गाडीसहित तीन जनालाई आबश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको सशस्त्र प्रहरीले रुपन्देहीले बताएको छ।

 

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्