त्रिभुवन विमानस्थलमा कडाइ भएसँग अन्य बाटोबाट तस्करी हुँदै सुन

सोमबार, असोज १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ भएपछि तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ ।

प्रहरीको सूक्ष्म अनुसन्धानले बिस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ । वैकल्पिक मार्गबाट आएको आठ किलो सुन प्रहरीले बरामदसमेत गरिसकेको छ ।

प्रहरीले दोलखामा गएको हप्ता सात किलो सुन बरामद गरेको छ । दुई पटक गरेर ल्याइएको सुन एक पटक तीन किलो र एक पटक चार किलो बरामद भएको थियो । त्यसमा संलग्न केहीलाई पनि पक्राउ गरिएको छ । 

यस्तै शुक्रबार रसुवाबाट एक किलो सुनसहित दुई जनालाई सीआईबीले नै पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए । 

यी घटना हेर्दा विमानस्थलमा सुरक्षा व्यवस्था कडा भएको चाल पाएपछि उनीहरूले वैकल्पिक मार्ग प्रयोग गरेको निष्कर्षमा अन्य सीमा नाकामा निगरानी बढाइएको उनले बताए । यसअघि सुन तस्करीका घटना विमानस्थलबाटै भएको पाइएको थियो । त्यसमा पनि भन्सारका कर्मचारी कै मिलेमतोसमेत पाइएको छ ।

अघिल्लो वर्ष विद्युतीय चुरोट (भेप) मा हालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो सुन तस्करी भएको थियो । गत साउन २ गते विमानस्थल हुँदै झण्डै ६१ किलो सुन तस्करी भयो । यी दुवै घटनाको मुद्दा अहिले अदालतमा विचाराधीन छ । यस्तै सीआईबीले ती घटनाका विषयमा पूरक अनुसन्धान जारी राखेको छ । 

विमानस्थल हुँदै ल्याएको सुन र यी विभिन्न क्षेत्रमा बरामद भएको सुन प्रकरणको सम्बन्ध के छ भनेर अहिले प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ । पटक पटक विमानस्थल हुँदै सुन तस्करी भएका घटना बाहिरिइरहेका बेला पछिल्ला केही घटनाक्रमले भने तस्करले विमानस्थलभन्दा वैकल्पिक मार्ग प्रयोग गरेर सुन तस्करी गरिरहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत नै बताउँछन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य ती घटनाको आपसी सम्बन्ध छ की छैन भनेर अनुसन्धान जारी रहेको बताउँछिन् ।  हाम्राकुरा।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्