भोटखोलामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

शनिबार, असोज १३, २०८०
Neuro hospital Nepalgunj

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा राष्ट्रिय प्रसारणलाइनको विजुली बालिएको हो ।

दुर्गम गाउँमा विद्युत् पुगेपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । योसँगै जिल्लाका १० वटै स्थानीय तहमा राष्ट्रिय प्रसारणलाइन पुगेको छ ।

विद्युत् प्रसारण लाइन पुगेपछि भोटखोला–४ र ५ नम्बर वडाका करिब ७० घर लाभान्वित भएका नेपाल विद्युत् प्राधिकरण सङ्खुवासभाका प्रमुख सञ्जीव कर्णले बताए । गाउँपालिकाको केन्द्र गोला बजारमा अहिले ५० केभिएको ट्रान्सफर्मर राखेर बत्ती बाल्न सफल भएको उनको  भनाइ छ।

निकै लामो सङ्घर्षपछि भोटखोलामा बिजुली बाल्न सफल भएको कर्णले बताए । उनका अनुसार सुगम र दुर्गम सबै ठाउँमा राष्ट्रियस्तरका विद्युतीकरण गर्ने लक्ष्यअनुसार भोटखोलामा राष्ट्रिय प्रसारणलाइन जोडिएको हो ।

जिल्लाको मकालु र सिलिचोङ गाउँपालिकाको केन्द्रसम्म विद्युतीकरण भए पनि वडा र गाउँस्तरसम्म भने विस्तार हुन बाँकी रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

खाँदबारी, चैनपुर, मादी, पाँचखपन र धर्मदेवी नगरपालिकाका साथै सभापोखरी र चिचिला गाउँपालिकामा राष्ट्रिय लाइनको विद्युतीकरण विस्तार भएको छ ।

सङ्खुवासभामा हाल विभिन्न आयोजनाबाट २२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । रासस।

 

 

 

 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्