सरकार भ्रष्टाचारप्रति संवेदनशिल भएन: रवि लामिछाने

शनिबार, असोज १३, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । पार्टीमा भ्रष्टाचारको गन्ध आउने वित्तिकै संलग्नलाई तत्काल कार्वाही गरिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् ।

रास्वपाले आज नेपालगञ्जमा आयोजना गरेको नेपालगञ्ज उपमहानगरपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले अपारदर्शी चन्दा र अनुचित सम्झौताको विषय पनि पुष्टि हुने वित्तिकै पार्टीले कसैलाई नछाड्ने बताए । उनले निराधार आरोप लगाएर बदनाम गर्ने अधिकार र छुट कसैलाई नभएको भन्दै पार्टी सत्यको पक्षमा उभिने बताए ।  

सभापति लामिछानेले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्न आवश्यक रहेको बताए । उनले जनताबाट शक्ति लिएर जनताको कल्याणकै लागि उक्त शक्ति लगाउनुपर्नेमा जोड दिए । राजनीतिक दलहरुले बाटो विराउँदा मुलुक अप्ठेरोमा परेको भन्दै लामिछानेले भनाई र गराईमा एकरुपता नहुँदा समस्या देखिएको बताए ।

सभापति लामिछानेले भ्रष्टाचार, बेथिति र दण्डहिनताप्रति सरकार संवेदनशिल नभएको दाबी गर्दै जनताको मतको सम्मान गर्न नसकेको जिकिर गरे।  

उनले सरकारले हरेक दिन अलोकप्रिय काम गरिरहेको दाबी गर्दै राज्यको ढुकुटी रित्याएर कार्यकर्ता पालनपोषणमा लिप्त भएको आरोप लगाए । लामिछानेले सरकारको काम कारबाही देखेर जनता निराश भएको बताए ।

लामिछानेले भेरी  अस्पतालका बरिष्ठ फिजिसियन डा.राजन पाण्डेलाई पनि आफ्नो पार्टीमा भित्र्याएका छन् । डा. पाण्डे आज त्यसै कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका हुन्। 

 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्