'नार्क प्रविधि गाउँ' कृषि तथा पशुपन्छी प्रविधिको हब बन्दै

शुक्रबार, असोज १२, २०८०
Neuro hospital Nepalgunj

दाङ  । कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुरा बाँकेद्वारा केरुनिया दाङमा सञ्चालित नार्क प्रविधि गाउँमा कृषि तथा पशुपन्छी क्षेत्रका विविध प्रविधिहरुको प्रदर्शन एवं विस्तार कार्य भइरहेको छ ।

त्यसकै निरन्तरताको रुपमा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम चितवनको आयोजनामा गाईपालक कृषकहरुसंग एक दिने अन्तरक्रिया एवम् प्रविधि प्रदर्शन र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

लमही नगरपालिका वडा नम्बर १ मा रहेको निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाको दुग्ध संकलन केन्द्रमा सोही सहकारीका अध्यक्ष कुमारी तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा लमही नगरपालिका वडा नम्बर २ का वडा सदस्य काशीराज चौधरी र लमही नगरपालिकाका पशु सेवा अधिकृत शिवराज न्यौपानेसहित करिब २५ जना गाईपालक कृषकको उपस्थिति रहेको थियो। 

राष्ट्रिय गाई अनुसन्धान  कार्यक्रम रामपुर चितवनका वरिष्ठ बैज्ञानिक देवीप्रसाद अधिकारी, बैज्ञानिक बिष्णुबहादुर केसी, डा। यज्ञराज पाण्डे एवं राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनका प्राविधिकहरुले उक्त कार्यक्रमको सहजीकरण गरेको  नार्क प्रविधि गाउँका प्राविधिक शिशिर अधिकारीले बताए । प्रविधि प्रदर्शन अन्तर्गत यूरिया मोलासेस मिनरल्स ब्लक र हरियो घाँसमा मोलासेस प्रयोग गरी साइलेज बनाउने तरिका प्रदर्शन गरिएको थियो । साथै यूरिया मोलासेस मिनरल्स ब्लक बनाउने हाते मेशिन र विभिन्न जातका घाँसको बिरुवा समेत हस्तान्तरण गरिएको थियो । 

वरिष्ठ बैज्ञानिक अधिकारीले कार्यक्रमको बारेमा जानकारी दिँदै व्यबस्थित गाईपालनबारे कृषकहरुलाई आवश्यक सल्लाह दिएका थिए । उनले नार्क प्रविधि गाउँले किसान र बिज्ञहरुबीच पुलको काम गरेको उल्लेख गरे । कृषकहरुले पशु स्वास्थ्य  र पशु आहारासम्बन्धि राखेको जिज्ञासामाथि डा. पाण्डे र केसीले  प्रकाश पारेका थिए । 

राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको नेतृत्वदायी सरकारी निकाय नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका प्रविधिहरुको कृषकस्तरमा प्रदर्शन, विस्तार र हस्तान्तरणको उद्देश्य सहित नार्क प्रविधि गाउँ सञ्चालनमा आएको हो । लुम्बिनी प्रदेशका लागि कृषि अनुसन्धान निर्देशनालय खजुराको मातहतमा लमही नगरपालिका वडा नम्बर २ केरुनिया दाङ (कार्य क्षेत्र लमही नगरपालिका-२, ३ र राप्ती गाउँपालिका-६) मा उक्त प्रविधि गाउँ सञ्चालन भइरहेको निर्देशनालयका सूचना अधिकारी रविन गिरीले बताए ।

गत आर्थिक बर्ष २०७९-८० देखि सञ्चालनमा आएको नार्क प्रविधि गाउँलाई समग्र कृषि तथा पशुपन्छी क्षेत्रका प्रविधिको प्रदर्शन केन्द्रको रुपमा विकास गर्न आगामी दिनमा अझ बढी सक्रिय र बृहतरुपमा लागि पर्नुपर्ने निर्देशनालयका निर्देशक डा.समीद अहमदले बताए । उनले त्यसका लागि सोही अनुसारका कार्यक्रम तय गरिने बताए ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्