लुम्बिनी प्रदेशमा जन्मसिद्धका आधारमा नागरिकता लिनेको संख्या बढदै

मंगलबार, असार २६, २०८०

बाँके । नागरिकता विधेयकको नयाँ ऐन अनुसार लुम्बिनी प्रदेशका धेरै जिल्लाहरुमा  जन्मसिद्ध नेपाली  नागरिकका सन्तानलाई धमाधम नागरिकता वितरण भइरहँदा प्रदेशका तीन वटा जिल्लामा भने अहिलेसम्म जन्मसिद्धका सन्तानका आधारमा नागरिकता कसैले पनि लिएका छैनन् ।

उक्त ऐन अनुसार असार १० गतेबाट नागरिकता वितरण थालिएको हो । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा मध्ये रुकुम पूर्व, प्युठान र रोल्पा जिल्लामा जन्मसिद्धका सन्तानका आधारमा कसैले पनि नागरिकता लिएका छैनन्।

रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरले नयाँ प्रावधान अनुसार कसैलाई पनि नागरिकता प्रदान नगरिएको बताए ।उनले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिन २ जना आए पनि प्रक्रिया नपुगेका कारण उनीहरुलाई प्रक्रिया पु¥याएर आउन आग्रह गरिएको बताए ।

यस्तै प्युठान जिल्लामा अहिलेसम्म कसैले पनि नयाँ प्रावधान अनुसार नागरिकता लिन नआएको प्रशासकीय अधिकृत मेघराज सैनीले बताए । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले पनि जिल्लामा अहिलेसम्म नयाँ प्रावधानमा टेकेर नागरिकता लिन कोही नआएको बताए ।

यो प्रावधानअनुसार सबैभन्दा बढी रुपन्देही जिल्लामा नागरिकता वितरण भएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार रुपन्देहीमा हालसम्म एक हजार ८२५ जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएका छन् ।

रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मझगाँवावाट नागरिकता दिने काम भइरहेको छ ।

दाङ जिल्लामा जम्मा ३६ जनाले जन्मसिद्धको सन्तानका आधारमा नयाँ ऐनअनुसार नागरिकता लिएका छन् ।

बर्दिया जिल्लामा एक हजार २०८ जनाले जन्मसिद्ध नेपाली नागरिकका सन्तानका आधारमा नागरिकता लिएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले जानकारी दिए ।

बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माका अनुसार अहिलेसम्म एक हजार ११४ जनाले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिएका छन् ।

नवलपरासी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा अनुसार जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय सेमरीबाट गरी जम्मा एक हजार ५५ जनाले जन्मसिद्धका सन्तानका आधारमा नेपाली नागरिकता पाएका छन् ।

कपिलवस्तु जिल्लाको जिल्ला प्रशासन कार्यालय बाहेक चन्द्रोटा र बाणगंगाबाट हालसम्म ७७३ जनाले त्यसरी नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

यस्तै पाल्पामा अहिलेसम्म ३ जनाले त्यसरी नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताइन् । यस्तै, गुल्मीमा ४ र अर्घाखाँचीमा १ जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्