एमाले बागमती अधिबेशन: ढुङ्गेल र दाहालबीच कडा प्रतिस्पर्धा

शुक्रबार, असोज १२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको अध्यक्षमाकैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

एमाले बागमती प्रदेश इन्चार्ज तथा अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष गुरु बरालका अनुसार सानुकुमार श्रेष्ठ र केशव बुढाथोकीले बिहीबार साँझ उम्मेदवारी फिर्ता लिएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने भएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघोषित रुपमा कैलाश ढुङ्गेललाई बोकेर हिँडेपछि अन्यायमा परेका दाहालले प्रतिस्पर्धाभन्दा बाहिर जान नसकिने बताएका हुन् । गत निर्वाचनमा मकवानपुरबाट उम्मेदवारी पाउने बेलामा राप्रपा नेपालका कमल थापालाई सघाएर दाहाललाई अन्याय गरिएको थियो । तर ओलीले उनलाई केन्द्रीय सदस्य पनि मनोनयन नगरेपछि प्रदेश अध्यक्षमा आफ्नो दावी नछाडेका हुन्। 

उनको पक्षमा काठमाडौं , चितवन, नुवाकोट, धादिङ, सिन्धुली र मकवानपुरका धेरै जसो प्रतिनीधिहरुले सहयोग गर्ने भन्दै लबिङ गरिरहेका छन् । जसले गर्दा ढुङ्गेलको भन्दा दाहालको पल्लाभारी देखिएको छ । तर अध्यक्ष ओलीले भने जसरी पनि ढुङ्गेललाई जिताउन निर्देशन दिएका छन् । अध्यक्षका अर्का उम्मेदवार बागमती प्रदेशका वर्तमान अध्यक्ष केशव पाण्डेले पनि मनोनयन फिर्ता गरेर दाहालको पक्षमा वकालत गरिरहेका छन् । 

यसैगरी उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जनाको उम्मेदवारी कायम भएको छ । उपाध्यक्षमा  ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच तथा सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन् ।

निर्वाचन मण्डलले शुक्रबार बिहान १० बजेदेखि मतदान गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ । बिहीबार उम्मेदवारी फिर्ता लिएका श्रेष्ठ र बुढाथोकीले अध्यक्षका लागि ढुङ्गेललाई सघाउने भनिए पनि उनीहरूले बाहिर केही बोलेका छैनन् । कूल दुई सय ४० पदका लागि प्राप्त पाँच सय ४८ उम्मेदवारमध्ये सहमतिका आधारमा हालसम्म करिब तीन सयले उम्मेदवारी फिर्ता लिइसकेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्