प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किंदै

शुक्रबार, असोज १२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं  चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार नेपाल फर्कदैछन् । हिजो मानसरोवर भ्रमण गरेका ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन् ।

प्रचण्ड र उनीको भ्रमण दलका सदस्यहरू शनिवार छेन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । 

प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९:४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

उनी स्थानीय समयअनुसार अपराह्न १४:३० बजे छेन्दु पुग्नेछन् । छेन्दुमा रहँदा उनीले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन् ।

बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रचण्ड बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए । प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसपछि उनीले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए ।

प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर न्यूयोर्कबाट चीन पुगेका हुन् । प्रचण्डले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए । प्रचण्डको भ्रमण दलमा परराष्ट्र मन्त्री नाराणप्रकाश साउद र अन्य सदस्यहरू पनि रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्