लुम्बिनीमा अहोरात्र पहरा दिँदै अवैध ओसारपसार विरुद्ध एक्सनमा सशस्त्र प्रहरी

बिहीबार, असोज ११, २०८०

सौरभ गिरी/चन्द्रौटा   । लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बलले सीमा नाकामा अहोरात्र पहरा दिँदै अवैध ओसारपसारविरुद्ध धावा बोल्दै आएको छ । सशस्त्र प्रहरीले लुम्बिनीका सीमामा हुने अवैध तस्करी मात्रै नभई  सीमा नाकाबाट हुने मानव बेचविखन रोकथाम, लागूऔषध कारोबारविरुद्ध र अपराधलाई समेत नियन्त्रण गर्दै आएको छ ।

केही समय अघि सशस्त्र प्रहरी लुम्बिनीको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अभि खत्रीले सीमा नाकामा हुने अवैध गतिविधिविरुद्ध कुनै सम्झौता नगर्ने बताएपछि झनै सशस्त्र प्रहरी खरोरुपमा उत्रेको हो ।

राज्यलाई कर तिरेर व्यापार गरिरहेका व्यापारीहरुलाई धरासायी बनाउन खोज्ने तस्करहरुविरुद्ध र राज्यको ढुकुटी बढाउनुपर्छ भन्ने मान्यताका साथ कडारुपले प्रस्तुत हुँदै आएको सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशभरका सबै सीमासँग जोडिएका जिल्लाबाट अवैधरुपले भित्रिएका सामग्रीहरुलाई धमाधम बरामद गर्दै आएको छ । लुम्बिनी प्रदेशभरका सीमासँग जोडिएका विन्ध्यवासिनी बाहिनीसहित ७ जिल्लामा तैनाथ सशस्त्र प्रहरी कार्यालयहरुले गत साउन महिनादेखि भदौ मसान्तसम्म ५ करोड ६२ लाख २८ हजार ६७३ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गर्न सफल भएका छन् ।

गत साउन महिनादेखि भदौ मसान्तसम्मको दुई महिनाको अवधिमा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशभरबाट बरामद गरेको अवैध सामग्री बराबरको रकम धेरै नै हो । सशस्त्र प्रहरीले सीमाबाट हुने अवैध तस्करी मात्र हेर्ने नभई अन्य आपराधिक गतिविधिलाई समेत हेर्ने हुँदा यो राजस्व संकलन अत्यन्त धेरै मान्न सकिन्छ । 

सशस्त्र प्रहरीका अनुसार लुम्बिनी अन्तर्गत राप्ती नदीको पूर्वतर्फको पश्चिम नवलपरासीस्थित सशस्त्र प्रहरी बल नं. २६ गणले २ महिनाको अवधिमा ५२ लाख ६० हजार ३५८ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ ।

रुपन्देहीस्थित सशस्त्र प्रहरी बल नं. २७ गणले १ करोड १२ लाख ६९ हजार ४५९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गर्न सफल बनेको हो । यसैगरी सशस्त्र प्रहरी बल नं. २८ गण कपिलवस्तुले ६२ लाख २ हजार ४१४ रुपैयाँ बराबरको भन्सार छलीका अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । 

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार राप्ती नदीबाट पश्चिममा पर्ने जिल्लाहरुमा दाङले दुई महिनामा १ लाख २८ हजार ६५० रुपैयाँको अवैध सामग्री बरामद गरेको हो । दाङका सीमा नाका भौगोलिक बनावटले पनि विकट रहेकाले त्यहाँबाट आक्कल-झुक्कल भन्सार छलीका सामग्रीहरु भित्रिन्छन् । 

त्यस्तै बाँकेका विभिन्न सीमा नाकाबाट सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरी बाँकेले पनि करोडौं मूल्य बराबरका अवैध सामग्री बरामद गरेको हो । गत साउनयता भदौ मसान्तसम्म सशस्त्र प्रहरीले बाँकेबाट सबैभन्दा बढी अवैध सामग्री बरामद गरेको हो । त्यहाँबाट सशस्त्र प्रहरीले २ करोड ७३ लाख ५५ हजार ९० रुपैयाँ बराबर मूल्यको अवैध सामग्री बरामद गर्न सफल भएको छ ।

बर्दियास्थित सशस्त्र प्रहरी बल नं. ३१ गणले पनि दुई महिनाको अवधिमा ३१ लाख ६ हजार ३२४ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको हो। बर्दियामा पनि विभिन्न नाका भएपनि तस्करहरुले त्यहाँबाट अवैध तस्करी कमै मात्र गर्ने गरेको पाइएको छ भने लुम्बिनी प्रदेशको नेतृत्व गरेको विन्ध्यवासिनी बाहिनीले पनि छड्के चेकजाँच गर्दा ३ लाख १५ हजार बराबरको अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरीले रातदिन सीमामा दिएको पहराका कारण राज्यलाई हुने करोडौं रुपैयाँ घाटा लाग्नबाट जोगिएको र सशस्त्र प्रहरीले सीमामा गरेको सर्हानीय कार्यप्रति  आफूले प्रसंशा गरेको लमही नगरपालिकाकी उप-प्रमुख लक्ष्मी योगीले बताइन् ।

त्यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष मख्खनबहादुर धामी भन्छन्-"खुला सीमाका कारण हुने तस्करी पूर्णरुपमा रोक्न निकै कठिन भएपनि सशस्त्र प्रहरीको कडा निगरानी र धमाधम अवैध सामग्री बरामद गर्दै गएपछि तस्करहरुको मनोबल कमजोर चाहिँ भएकै छ ।" सीमावारीको व्यवसाय फस्टाउनका लागि सशस्त्र प्रहरीले अवैध रुपमा तस्करी गरेर भण्डारण गरिएका गोदामबाटै सामग्री बरामद गर्नुपर्ने धामीले बताए ।

"यदि तस्करीलाई पूर्णरुपले निस्तेज पार्ने हो भने सर्वसाधारणहरुले भन्सार कार्यालय र सुरक्षा निकायलाई सहयोग गर्न आबश्यक देखिन्छ । राज्यको ढुकुटी बढाउन सबैले मद्दत गर्ने हो भने सीमा पारीबाट हुने अवैध तस्करी रोक्न सकिन्छ", भैरहवा भन्सार कार्यालयका एक अधिकृतले बताए । कहिलेकाहीँ अवैध तस्करी भइरहेको सुरक्षा निकायले जानकारी नपाएपनि सर्वसाधारणले त्यसबारे खबर गर्दा अत्यन्त राम्रो हुने उनले  बताए ।

पश्चिम् नवलपरासीका राप्रपाका प्रवक्ता  सन्तोष पाण्डेले सशस्त्र प्रहरीको सीमित जनशक्तिका बाबजुद गरिएको कडाईले तस्करी निकै कम भएको बताए । पाण्डेले भने-"पश्चिम् नवलपरासीमा सुस्ता, प्रतापपुर, पालिनन्दन र सरावल गाउँपालिकाको ३० किलोमिटर लामो सीमा नाका भएपनि सशस्त्र प्रहरीले गरिरहेको सीमा सुरक्षाप्रति खुशी व्यक्त गर्नैपर्छ ।"  

जिल्लामा भारतबाट १ सय रुपैयाँ बढी सामग्री ल्याउनेलाई भन्सार महशुल तिराउन लागेपछि भारत जानेको संख्यामा कमी भएको र रातको समयमा भरिया लगाएर गरिने तस्करीमा पनि धेरै कमी भएको  पाण्डेले बताए । अहिले सशस्त्र प्रहरीले गोदाममै छापा हान्न थालेपछि तस्करी गर्नेको पनि मनोबल खस्किँदै गएको उनले बताए। तस्करी नियन्त्रण अभियानमा सुरक्षा निकायलाई पूर्ण सहयोग रहने पाण्डेले बताए ।

यता लुम्बिनीस्थित सशस्त्र प्रहरी प्रमुख डिआइजी खत्रीले लुम्बिनीभर अवैध तस्करीविरुद्ध सशस्त्र प्रहरी पहिला पनि लागेको र सधैं लागिपर्ने बताएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्