बाँकेको राप्तीसोनारी गाउँपालिका शिक्षाप्रति उत्तरदायी बन्दै

बिहीबार, असोज ११, २०८०
Neuro hospital Nepalgunj

बाँके। बाँकेको राप्तीसोनारी गाउँपलिकामा गत वर्ष निर्वाचित भएर आएका जनप्रतिनिधिहरु पहिलो वर्षदेखि नै शिक्षाप्रति सामाजिक उत्तरदायी बन्दै गएका छन् । 

जसअन्तर्गत राप्तीसोनारीले गत वर्ष शिक्षा क्षेत्रमा केही उल्लेखनीय काम गर्न सफल भएको शिक्षा शाखा प्रमुख जीवन न्यौपाने बताउँछन् । 

राप्तीसोनारीले गत वर्षमात्रै १६ वटा कक्षा कोठा निर्माण गर्नुका साथै ३ वटा आईसिटि ल्याब, ३ वटा पुस्तकालय, २ वटा विज्ञान प्रयोगशाला स्थापना गरेको छ । 

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्र्गत ११ वटा विद्यालयको मर्मत सम्भार र खानेपानी तथा फर्निचर व्यवस्थापन, गाउँपालिकाको बजेटबाट ४४ वटा विद्यालयको मर्मत सम्भार, ४० जना विद्यार्थीलाई सम्पूर्ण खर्च ब्यहोर्नेगरी  छात्रृवृत्ति, ४ वटा बालविकास केन्द निर्माण, पालिकाको अनुदानमा २ सय ६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापन तथा विद्यालय समायोजन कार्यको सुरुवात गत वर्षदेखि राप्ती सोनारीले सुरु गरेको शाखा प्रमुख न्यौपानेले बताए । 

गत वर्ष राप्तीसोनारीको शिक्षा शाखातर्र्फ रहेको कूल ८ करोड ६१ लाख ९९ हजार रुपैयाँ बजेट रहेको थियो । जसमा शाखाले ६ करोड ६९ लाख २३ हजार खर्च गर्न सफल भएको न्यौपानेले बताए । शिक्षा शाखाको गत वर्ष वित्तीय प्रगति ७७ दशमलव ६४ र भौतिक प्रगति ६५ दशमलव ९० रहेको छ । 

शाखाले गत वर्ष १ लाख ४१ हजार खर्च गरेर विभिन्न विद्यालयहरुमा खानोपानी तथा शौचालय निर्माण गर्न सफल भएको थियो भने वडा नम्बर ५ मा रहेको बालक शान्ति विद्यालय मन्दिरमा ३ लाख ७० हजार खर्च गरेर मर्मत सम्भार, वडा नम्बर ७ मा रहेको दिप प्रकाश आधारभुत विद्यालयमा ४ लाख ८५ हजार खर्च गरेर भौतिक सुधार, १ लाख ६ हजार रुपैयाँ खर्च गरेर दृष्टिविहीनलाई ल्यापटप खरिद कार्य सम्पन्न गरेको शाखाले जनाएको छ । 

यस्तै १ सय ३६ जना पूर्व प्राथमिक तहका शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई प्रोत्साहन भत्ता १ करोड २८ लाख ५० हजार रुपैयाँ वितरण,  शिक्षक दरबन्दी न्यून रहेका विद्यालयहरुलाई शिक्षण सहयोग शिक्षक अनुदान पोषाकमा ३ करोड ४० लाख ४२ हजार खर्च, ३ लाख १ हजार खर्च गरेर विद्यालयहरुको शैक्षिक, भौतिक र आर्थिक पक्षको सयुक्त टोलीबाट अनुगमन, ४ लाख रुपैयाँमा विभिन्न शैक्षिक सामग्री बाल विकास केन्द्रलाई वितरण गरेको थियो ।

साथै राष्ट्रपति रनिंग सिल्ड प्रतियोगिता अध्यक्ष कप, अन्य विभिन्न खोलकुदका कार्यक्रम तथा खेलकुद सामग्री खरिदमा राप्ती सोनारीले ७ लाख रुपैयाँ बढी खर्च गरेको थियो भने नियमित शैक्षिक क्यालेण्ड, शैक्षिक परामर्शदाता नियुक्ती तथा सेवा संचालन पनि राप्ती सोनारीले संचालन गरेको न्यौपानले बताए । 

सामाजिक क्षेत्रमा उत्तरदायी बन्दै शिक्षालाई प्राथमिकताका साथ राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले सामाजिक क्षेत्रमा उत्तरदायी बन्दै यस वर्ष पालिकाले स्वास्थ्य, खेलकुद, रोजगारसागै शिक्षालाई प्राथमिकता दिएको बताएका छन् । 

‘राप्तीसोनारीले आगामी वर्षका लागि शिक्षाक्षेत्रमा उल्लेखनीय बजेट ल्याएको छ,’ अध्यक्ष पौडेलले भने, ‘सामाजिक क्षेत्रमा उत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारलगायतका क्षेत्रलाई यस वर्ष पालिकाले विशेष प्राथमिकता दिएको छ ।’

राप्ती सोनारी गाउँपालिकाको आर्थिक वर्ष २०८०-८१ का लागि ल्याएको करिब ८० करोड ९१ लाख ३८ हजार रुपैयाँको बजेटमा शिक्षा शाखालाई ६ करोड, ५९ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरिएको पौडेल बताउँछन्  । 

पालिकाले शिक्षालाई जोड दिँदै ५ वर्षे गाउँ शिक्षा योजना निर्माण तथा कार्यान्वयन गर्ने, आगामी वर्षदेखि टिनको छानो विस्थापित गर्न, संघ तथा प्रदेश सरकारको सहकार्यमा आइसिटि ल्याब, साइन्स ल्याब, कक्षा कोठा थपका कार्यक्रम संचालन गर्ने, बालविकास केन्द्रहरुलाई शैक्षिक सामग्रीहरुको व्यवस्थापन गर्ने, सबै विद्यालयहरुमा स्वाच्छ खानेपानी तथा लैङ्गिकमैत्री शौचालयहरुको व्यवस्थापन गर्ने, प्राविधिक धारको उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने, सरकारी विद्यालयका विद्यार्थीहरुको एकै प्रकारको ड्रेसकोड लागू गर्ने नीति राप्तीसोनारीले लिएको बताए । 

उनले विद्यालय शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन गाउँपालिका र विद्यालयका प्र.अ बीच कार्य सम्पन्न करार गर्ने, विद्यालयमा कार्यरत शिक्षकहरुलार्ई मागमा आधारित आधारभूत तथा पुनर्ताजगी तालिम संचालन गर्ने, अथिति शिक्षण कार्यक्रम गर्ने, सुस्त मनस्थिति बहिरा तथा कमजोर सिकाइ भएका ढिलो सिक्ने बालबालिकालाई उपचारात्मक शिक्षणको व्यवस्था गर्ने, आधारभूत तहसम्म लागू गरिएको स्थानीय पाठ्यक्रमलाई संस्थागत विद्यालयमा समेत लागू गर्ने, संस्थागत विद्यालयको समेत नियमित अनुगमन गर्ने, स्थानीय शिक्षा नियामावली निर्माण तथा कार्र्यान्वयन गर्ने, विद्यालय व्यवस्थापन समिति गठन तथा संचालन सम्बन्धी कार्यविधि तर्जुमा गर्ने, शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको क्षमता विकास कार्यक्रम संचालन गर्ने, २ वटा विद्यालयहरुका खेल मैदानको स्तरोन्नती तथा मर्मत सम्भार गर्ने, अग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराउने सम्बन्धी सम्भाब्यता अध्ययन तथा मूल्यांकन गर्ने नीति पनि आगामी वर्षका लागि राप्तीसोनारीले बनाएको पौडलले बताए । 

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्