हालसम्म बाढी- पहिरोबाट २५ जनाको मृत्यु, २५ बेपत्ता

मंगलबार, असार २६, २०८०

काठमाडौं । नेपालमा मनसुन सुरू भएप्छि अहिलेसम्म २५ जनाको बाढी -पहिरोबाट ज्यान गएको छ। गत जेठ ३१ गतेबाट देशमा  मनसुन प्रवेश गरेयता बाढी-पहिरोबाट २५ जना बेपत्ता भएका छन् भने १८ जना घाइते छन्।

बाढी-पहिरोबाट हालसम्म देशभरमा ८३ वटा घरमा क्षति पुगेको छ भनेर ११९ वटा घरमा आंशिक क्षति भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ।

यस वर्षको बाढी-पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। त्यहाँ ३ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ताको अवस्थामा छन्।

पाँचथरमा ३ जनाको मृत्यु भएको भने ३ जना बेपत्ता छन्। यस्तै ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्युु भएको थियो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने आकलन गरेको छ।

मधेसमा सबैभन्दा बढी अर्थात् ४ लाख ३ हजार १८० र त्यसपछि कोशीमा ३ लाख १ हजार १४३ जनसंख्या प्रभावित हुनसक्ने उसले प्रक्षेपण गरेको छ।

बाढी–पहिरोबाट २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने पनि उसले औंल्याएको थियो। तथ्यांक २५ गते साँझ ५ बजेसम्मको हो।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्