सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
झापा । कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा डेंगी संक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना संक्रमित भएका छन् ।
तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना संक्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए ।
कोशी प्रदेशको १४ जिल्लामै डेंगी फैलिएको छ । उनका अनुसार मोरङमा चार हजार दुई सय ४२ जना संक्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा दुई हजार नौ सय ६४ जना संक्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको उनको भनाइ छ । उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ ।
गर्मी र बर्खायाममा डेंगी फैलिने गरेको छ । डेंगीका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेंगीका बिरामीको उपचार भइरहेको छ ।
साउनदेखि हालसम्ममा तेह्रथुममा दुई सय ११, पाँचथरमा तीन सय ३८, इलाम पाँच सय ३५, उदयपुर आठ सय १६, धनकुटामा चार सय ३२, भोजपुरमा तीन सय ३१, सङ्खुवासभा आठ सय ६७, ओखलढुङ्गा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेंगीका बिरामी फेला परेका छन् ।
डेंगी संक्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेंगीको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्नेलगायतका कामसहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपि डेंगी संक्रमितको सङ्ख्या झन् बढ्दो रहेको छ ।
स्वास्थ्यकर्मीका अनुसार तीव्र ज्वरो आउनु डेंगीको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेंगीका बिरामीमा देखिन्छन् ।