सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । बिरामीका आफन्त र चिकित्सकबीच कम्युनिकेसनको अभावले अस्पतालमै चिकित्सकमाथि आक्रमण भइरहेको त छैन ?
बिरामीसँग कसरी व्यवहार गर्ने, बिरामीलाई के–के कुरा जानकारी दिने र बिरामीका आफन्तलाई कसरी काउन्सिलिङ गर्ने भन्नेबारे कसैले ध्यान दिएको पाइदैन । कुनै शल्यक्रिया गर्नु परेमा त्यसको सफलता दर, कुनै जटिलता आउने सम्भावना र त्यस्तो जटिलता आउँदा अपनाउनुपर्ने उपचार पद्धति र जोखिमबारे बेलैमा बिरामीका आफन्तलाई चिकित्सकले थाहा दिनुपर्ने हो।
घटना नम्बर १ः असोज ८ गते पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालका मा चिकित्सकमाथि डाकटर अनिल शाहमाथि कुटपिट भयो । अस्पतालमा आइतबार बिहान उपचारका लागि पुगेकी लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका सुरुमा आफन्त र पछि ठूलो हुल आएर चिकित्सकहरुमाथि आक्रमण गरे । भेन्टिलेटरमा उनको मृत्यु भएपछि बिरामीका आफन्तले उपचारका प्रक्रियामा रहेका डा।शाहमाथि आक्रमण गरेका छन् ।
घटना नम्बर २: लमजुङ जिल्ला अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई रक्सीले मातेका बेसीशहर नगरपालिका-७ का वडाध्यक्ष ऋषिराम बस्नेतले आइतबार ७ गते राति डाक्टर अधिकारीलाई कुटपिट गरेका हुन्।
वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेत आएर कुटपिट गरेको अस्पतालका डाक्टर कुटपिट गरेका थिए।
घटना नम्बर ३: हेटौंडास्थित सञ्चो अस्पतालका डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि बिरामीहरूको उपचार गरिरहेको अवस्थामा आक्रमण भयो । साउन २२ मा हेटौंडा, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधान सो अस्पतालमा उपचारका लागि आएका थिए । थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको दुई दिनपछि उनको मृत्यु भएको थियो । तर, रिफर गरिएको एक महिनापछि उपचारमा लापरबाही भएको भन्दै भदौ २७ मा मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गरे ।
घटना नम्बर ४: गुल्मी अस्पतालमा भदौ १२ मा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि चिकित्सकमाथि कुटपिट भयो । अर्घाखाँची, छत्रदेव गाउँपालिका–७ की ७ वर्षीय बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि अस्पताल प्रमुख डा राजेन्द्र जिसीमाथि एक समूहले कुटपिट गर्यो ।
घटना नम्बर ५: मोरङको सुन्दरहरैंचा नगर अस्पतालका मेडिकल अधिकृत डा सन्दीप पोखरेलमाथि कुटपिट भयो । बूढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीले भदौ २८ मा डा पोखरेलमाथि हातपात गरेका हुन्। उनी बुबालाई उपचार गराउन आएका थिए। उपचार नगरिदिएको भन्दै उनले डाक्टरमाथि आक्रमण गरेका थिए ।
घटना नम्बर ६: ०७९ कात्तिक ६ गते गोरखा अस्पतालमा ड्युटीमा रहेका डाक्टर अविनाश पराजुलीमाथि बिरामीका आफन्तले हातपात गरेका थिए । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी एक महिलाको रिपोर्टको विषयलाई लिएर ड्युटीमा खटिएका डाक्टर पराजुलीलाई उनका आफन्तले हातपात गरेका थिए ।
डाक्टर, नर्स अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण भएका यी केही उदाहरणमात्र हुन् । यस्ता घटना बारम्बार प्रकाशमा आइरहेका छन् । हेटौंडामा हालै चिकित्सकमाथि भएको आक्रमण त सिधा अपराध हो । बिरामीको मृत्यु भएको एक महिनापछि रिफर गरिदिएको अस्पतालमा पुगेर बिरामीका आफन्तहरूले जे जस्तो व्यवहार गरे, त्यो क्षम्य हुन लायक छैन ।
स्वास्थ्यकर्मीले स्वास्थ्य उपचारमा लापरबाही गरेको खण्डमा प्रमाण संकलन गरेर बिरामी र तिनका आफन्तले विधिसम्मत् ढंगले कारबाहीको माग गर्नुको साटो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु दुखद् हो । कुनै पनि उपचारका क्रममा चिकित्सकीय त्रुटि भएदेखि डाक्टरको हकमा मेडिकल काउन्सिल र नर्सको हकमा नर्सिङ काउन्सिलमा उजुरी हाल्न पाउने व्यवस्था रहेको छ। उक्त उजुरी सही छ छैन, उपचार ठिक छ छैन, काम सही तरिकाले गरेको छ छैन हेरेर कारबाही अगाडि छ ।
मेडिकल काउन्सिल ऐनले चिकित्सकलाई कानुनी कारबाहीको दायरामा ल्याउने व्यवस्था गरेको छ। त्यसबाहेक कुनै पनि फौजदारी लापरबाही भएर बिरामीको मृत्यु भएको वा अङ्गभङ्ग भए त्यसमा फौजदारी संहिता आकर्षित हुन्छ। उक्त कानुन अनुसार बिरामीका आफन्तले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको सचिवालयमा उजुरी दिने पनि कानुनी प्रक्रिया छ । त्यो प्रक्रियामा प्रहरी, मेडिकल काउन्सिल र महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि पनि रहने व्यवस्था छ। त्यसबाहेक उपचारका क्रममा चिकित्सकको त्रुटिका कारण आर्थिक भार पर्यो भन्ने लागे क्षतिपूर्ति ऐन अनुसार क्षतिपूर्ति माग गर्न सकिने व्यवस्था रहेको छ।
त्यसका लागि प्रत्येक जिल्लामा जिल्ला न्यायाधीशको अध्यक्षतामा क्षतिपूर्ति समिति बनेको छ। अदालतमा गएर क्षतिपूर्तिको माग गरे विज्ञहरू ल्याएर, अनुसन्धान गरेर उचित ठहर भएमा क्षतिपूर्ति भराउने व्यवस्था समेत रहेको छ। त्यसबाहेक ठगी लगायतका विषयमा उपभोक्ता ऐन पनि आकर्षित हुन्छ।
डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेमाथि कारबाहीको व्यवस्था कानुनमा छ । स्वास्थ्यकर्मीको कमजोरी भएमा उनीहरुलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन सकिने कानुनी व्यवस्था हुँदाहुँदै पनि विधिसम्मत् बाटो नअपनाइ चिकित्सकमाथि हातपात गर्नेलाई कानुनी कठघरामा उभ्याउनुको विकल्प छैन ।
नेपालमा बिरामी, बिरामीका आफन्त र चिकित्सकबिच कम्युनिकेसन नहुने भएकाले बेलाबेला स्वास्थ्य क्षेत्र आलोचित हुने गरेकोछ। अस्पतालका स्वास्थ्यकर्मीले बिरामी र तिनका आफन्तलाई सही तरिकाले काउन्सिलिङ गर्न नसक्दाको परिणामस्वरुप स्वस्थ्यकर्मीमाथि आक्रमण हुने गरेको छ । बिरामीसँग कसरी व्यवहार गर्ने, बिरामीलाई के–के कुरा जानकारी दिने र बिरामीका आफन्तलाई कसरी काउन्सिलिङ गर्ने भन्नेबारे कसैले ध्यान दिएको पाइदैन । कुनै शल्यक्रिया गर्नु परेमा त्यसको सफलता दर, कुनै जटिलता आउने सम्भावना र त्यस्तो जटिलता आउँदा अपनाउनुपर्ने उपचार पद्धति र जोखिमबारे बेलैमा बिरामीका आफन्तलाई चिकित्सकले थाहा दिनुपर्ने हो ।
यो पाटोलाई केही चिकित्सकहरुले अवलम्वन गरेपनि अधिकांशले भने त्यसो गरेको पाइदैन । जबसम्म चिकित्सा शास्त्रको पाठ्यक्रममा ‘कम्युनिकेसन इन म्यानेजिङ कोर्स’ अनिवार्य बनाइँदैन, तबसम्म नेपालमा बेलाबेलामा यस्तो खालका क्षम्य नहुने घटना तथा आलोचना स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले खेप्नुपर्ने बाध्यता रहिरहन्छ । अमेरिकामा चिकित्सा शास्त्र अध्ययन गर्नेहरूलाई कम्युनिकेसन इन म्यानेजिङ कोर्स अनिवार्य रूपमा पढाइन्छ ।
नेपालमा डाक्टर, नर्सहरूलाई पर्याप्त मात्रा कम्युनिकेसनसम्बन्धी कोर्स अध्यापन नगराउँदा यस्ता समस्या उत्पन्न भएको हो । मर्न लागेको बिरामी र उसका आफन्तसँग कसरी संवाद गर्ने, कसैलाई निको नहुने क्यान्सर भयो भने कसरी संवाद गर्ने, गम्भीर खालको बिरामी, निको हुने सम्भावना भएकारनभएका बिरामीसँग कसरी सञ्चार गर्ने भन्ने कुरा पढाउन र सिकाउन आवश्यक छ । नेपालमा एकातिर स्वास्थ्यकर्मीले बिरामी र तिनका आफन्तलाई सही तरिकाले काउन्सिलिङ गर्न सक्दैनन् भने अर्कोतिर बिरामी र तिनका परिवारले कुरा नबुझिकन आवेशमा आउँदा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि आक्रमण हुने गरेको छ।
यस्तै, अस्पतालमा भर्ना गरेर राखेका बिरामीलाई समयमै डाक्टरले नहेरिदिँदा पनि आफन्तहरु रिसाएर आक्रमणमा उत्रिने गरेका छन् । यस्तोमा बिरामीको रोग पत्ता लागे नलागेको, बिरामी कस्तो अवस्थामा छ, कस्तो औषधि प्रयोग भइरहेको छ, अस्पतालमा कति समय राख्नुपर्छ भनेर पूर्ण रूपमा जानकारी दिन आवश्यक छ । भर्ना गरेका बिरामीको अवस्थाबारे कन्सल्ट्यान्ट डाक्टरले रामोसँग बिरामी वा परिवारका सदस्यलाई जानकारी दिएको खण्डमा त्यस्ता घटना कम हुनेछन् । स्वास्थ्य सेवा प्रणालीमा सेवाग्राही र स्वास्थ्य सेवा प्रदायकबिचको कम्युनिकेसन ग्यापका कारण यस्ता घटना बारबार निम्तिने गरेका छन् ।
सेवा प्रदायक र सेवादायी बिचमा सहज रुपमा सञ्चार नहुँदा यस्ता खालका विकृति आएको हो। अस्पतालहरूमा उपचारको प्रोटोकल बिरामी र उसका आफन्तले देख्ने गरी राखिँदैन । हरेक वार्डमा कुन रोग उपचार गरिन्छ, त्यसका लक्षणहरू के–के हुन्, उपचार विधि के–के हुन् भन्ने जानकारी दिने प्रणाली समेत नेपालमा छैन ।