एमाले बागमतीको अध्यक्षमा सहमतिको प्रयास, चुनावी प्रतिस्पर्धा हुने संकेत

मंगलबार, असोज ९, २०८०

काठमाडौं  । एमाले बागमती प्रदेशको अधिवेशन सोमबारबाट सुरु भएपनि अध्यक्षमा कुनै सहमति बन्न सकेको छैन । विकल्पसहितको ठोस प्रस्ताव अघि नबढेपछि चार आकाङ्क्षीमध्ये दुई जना उम्मेद्वारबीच चुनावी प्रतिस्पर्धाको सम्भावना बढेको हो। 

एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि अहिलेसम्म तीस जनाभन्दा बढिले आकाङ्क्षा राखेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सर्वसम्मत गर्न निर्देशन दिएका छन् । अध्यक्षमा सर्वसम्मति नहुँदा उपाध्यक्षसहितका पदहरूमा अन्तिमसम्म कम्तीमा डेढ दर्जन उम्मेद्वारका बीचमा प्रतिस्पर्धा हुने बागमतीका एमाले नेताहरूले जनाएका छन् । 

अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाल र कृष्णभक्त पोखरेलले नेतृत्वका लागि दाबी गर्दै अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डे र महासचिव शङ्कर पोखरेलसहित नेता र प्रतिनिधिसँग लबिङ गरिरहेका छन् । तर, ओली, पौडेल, पाण्डे र पोखरेलले औपचारिक रूपमा कसैको नाममा पनि सर्वसम्मतिको सङ्केत दिएका छैनन् । राती अबेरपनि उनीहरुबीच नेतृत्वका लागि छलफल भए पनि विना निष्कर्ष टुङ्गिएको थियो ।  अन्तिममा पाँच जना आकाङ्क्षीमध्ये दाहाल र ढुंगेलबीच चुनावी प्रतिस्पर्धाको सम्भावना बढेको भएता पोखरेलले पनि आफ्नो दाबी कायमै राखेका छन् ।

ढुङ्गेलले सर्वसम्मतिका लागि प्रयास भइरहे पनि चुनावी प्रतिस्पर्धा हुँदा पनि उम्मेदवारी मनोनयन गर्ने मानसिकताका साथ तयारी अवस्थामा रहेका छन् ।  अध्यक्षका अर्का दाबेदार दाहालले प्रतिनिधिको विश्वास जितेर नेतृत्व लिन चाहेको बताउँदै प्रतिनीधिबीच लबिङ गरिरहेका छन् । सर्वसम्मतिका लागि कोसिस हुने कुरा राम्रो भए पनि नेतृत्व छनोटमा पार्टीको मूल नेतृत्व र पदाधिकारी कसैले पनि कार्यकर्ताको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्न नहुने भन्दै उनले लबिङ गरिरहेका छन् । अहिलेका अध्यक्ष पाण्डे र बागमतीका पूर्व सभामुख श्रेष्ठ भने नेतृत्वले सर्वसम्मत अगाडि सारे वा चुनावी प्रतिस्पर्धाको मनस्थिति बनाउन निर्देशन दिए मात्रै उम्मेदवार उठ्ने तयारीमा छन् । 

अहिलेका अध्यक्ष पाण्डेले अन्तिमसम्म नेतृत्व छनोटका लागि सर्वसम्मतिकै लागि कोसिस हुने बताउँदै आए पनि दाबी छाडेका छैनन् । स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बरालले नेतृत्वका लागि सर्वसम्मति जुटिनसके पनि अझै आशा राखेर प्रयास गरिरहेको बताए  ‘सर्वसम्मति भएन भने त निर्वाचनकै बाटोमा जान्छ तै पनि सर्वसम्मति आशा छ’ स्थायी कमिटी सदस्य बरालले भने । 

अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदै छन् । सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको  अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गरेका थिए। अधिवेशनलाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिएको थियो । नेतृत्व चयनमा सर्वसम्मति नभए इलोक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गराइने गरी अन्तिम तयारी भइरहेको छ । अधिवेशनमा सहभागी हुने ११ सय ३८ प्रतिनिधिमध्ये एक हजार २८ जना प्रतिनिधि छनोट भइसकेका छन् । 

बागमती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यद्वय महेश बस्नेत र गोकूल बाँस्कोटाको भूमिका निर्णायक भएकाले अध्यक्ष र पदाधिकारीका आकाङ्क्षीहरू निरन्तर उनीहरूको सम्पर्क र परामर्शमा रहेका छन् । एक दशकभन्दा बढी समय बागमती र उपत्यका इन्चार्ज रहेका पाण्डेको एकल प्रभावमा कम्तीमा ३ सय ५० सम्म प्रतिनिधि रहेको एमाले वृत्तमा अनुमान छ ।बाँकी प्रतिनिधिमा बाँस्कोटा र बस्नेतको उल्लेख्य प्रभाव छ । त्यस्तै, उपत्यकासहित महिला प्रतिनिधिमा शाक्यले निर्वाह गर्ने भूमिका पनि निर्णायक रहेको छ । 

त्यस्तै, प्रदेशबाट स्थायी समिति र पोलिटब्युरोमा प्रतिनिधित्व गर्ने प्रभावशाली नेताहरू काशीनाथ अधिकारी, पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेल र शेरबहादुर तामाङ, अरुण नेपाल पनि निर्णायक छन् । बाँस्कोटा र बस्नेतले अहिलेसम्म सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन् । तर, निकटस्थहरुलाई बाँस्कोटाले दाहाल र बस्नेतले ढुङ्गेललाई प्रतिनिधिहरूमाझ लबिङ गर्न थालेको स्रोतको दाबी छ । जसले गर्दा बागमतीमा उपाध्यक्ष पाण्डेसहितको अप्रत्यक्ष भूमिकामा बाँस्कोटा र बस्नेतबीच पार्टीभित्र वर्चस्वको लागि प्रतिस्पर्धा हुने देखिएको छ । 

अहिलेसम्म उपाध्यक्षमा दोलखाबाट ईश्वरचन्द्र पोखरेल, काभ्रेबाट कुमार खकुरेल र रामहरि सुबेदी, धादिङबाट भूमि त्रिपाठी, ललितपुरबाट नवराज सिलवाल र मधुसुदन पौडेल, चितवनबाट विजय सुबेदी र दावदोर्जे लामा, नुवाकोटबाट नारायण खतिवडा, मकावनपुरबाट महेश बर्तौलाले आकाङ्क्षा राखेका छन् । उनीहरुमध्ये बर्तौला संसदीय दलको सचेतक पनि छन् ।

त्यस्तै, सचिवमा सुभाष कर्माचार्य र  हस्त पण्डित चर्चामा छन् । दाहाल र ढुङ्गेल अध्यक्षको उम्मेदवार बने पोखरेल र कर्माचार्य उनीहरूमध्येकै टिमबाट सचिवको उम्मेदवार बन्नेगरी तयारीमा छन् । पोखरेल र कर्माचार्य दुवै एमाले उपाध्यक्ष पाण्डे निकट मानिन्छन् । नेकपा एसका कर्माचार्य डेढ महिनाअघि गोकूल बाँस्कोटाले नेकपा एसबाट एमालेमा प्रवेश गराएका थिए । सोही कारण दाहाल बाँस्कोटाको समर्थनमा अध्यक्षको उम्मेदवार बने कर्माचार्य सचिव उठ्ने र बस्नेतको समर्थनमा ढुङ्गेल अध्यक्षको उम्मेदवार बने पोखरेल सचिव उठ्ने सम्भावना बढेको स्रोतले जनाएको छ ।

उपसचिवमा दोलखाबाट डबल पाण्डे र कालिका पाठक, सिन्धुलीबाट खड्ग खत्री, काभ्रेबाट कञ्चन अधिकारी, भक्तकुमारी लामा र गीता बञ्जारा, भक्तपुरबाट भास्कर प्रधानाङ्ग, काठमाडौंबाट रत्न गुरुङ र उपेन्द्र पौडेल, धादिङबाट रमेश आचार्य र राधिका सापकोटा र सिन्धुपाल्चोकबाट अशोक चौंलागाईंलगायत आकाङ्क्षी छन् ।    मङ्गलवार सम्पन्न हुने अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला तथा १० प्रतिशत युवाका लागि सिट आरक्षण गरिएको छ । समावेशितालाई पनि ध्यान दिएर भूगोल र खुलासहित विभिन्न समूहबाट सदस्य निर्वाचित गर्ने तयारी छ । 

को को छन् पदाधिकारीमा?

अध्यक्ष–केशव पाण्डे, सानुकुमार श्रेष्ठ, कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाल

उपाध्यक्ष–ईश्वरचन्द्र पोखरेल, कुमार खकुरेल, रामहरि सुबेदी, भूमि त्रिपाठी, मधुसुदन पौडेल, दावदोर्जे लामा, नारायण खतिवडा, महेश बर्तौला, नवराज सिलवाल, विजय सुबेदी

सचिव–कृष्णभक्त पोखरेल, सुभाष कर्माचार्य र हस्त पण्डित 

उपसचिव–डबल पाण्डे, खड्ग खत्री, कञ्चन अधिकारी, भास्कर प्रधानंग, उपेन्द्र पौडेल, रत्न गुरुङ, रमेश आचार्य, कालिका पाठक, राधिका सापकोटा, भक्तकुमारी लामा, अशोक चौंलागाईं, गीता बञ्जारा

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्