राप्तीसोनारीको कमैयाडाडामा वर्थिङ सेन्टरसँगै एम्वुलेन्स सेवा सुरु

सोमबार, असोज ८, २०८०

बाँके । बाँकेस्थित राप्तीसोनारी गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्सको आज उद्घाटन गरिएको छ 

गाउँपालिकाको वडा नम्बर-६ कमैयाडाडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसूति भवन तथा एम्वुलेन्सको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आज उद्घाटन गरेका हुन्  ।  

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले गाउँपालिकाका ९ वटै वडामा प्रसूति गृह निर्माण गरी घरमा हुने सुत्केरी दरलाई शुन्यमा झारिने पनि उल्लेख गरे । ‘गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर संचालनको नीति लिएको छ उनले भने–‘आगामी आर्थिक वर्षभित्र एक वडा एक वर्थिङ सेन्टर संचालन गर्ने हाम्रो उद्देश्य छ । त्यसलाई पूरा गरिन्छ ।’

कमैयाडाडामा वर्थिङ सेन्टर संचालनमा आएपछि त्यसक्षेत्रका गर्भवतीलाई सुत्केरी हुन नेपालगन्ज आउनु पर्ने बाध्यताको अन्त्य भएको पनि  अध्यक्ष पौडेलको भनाइ छ । गाउँपालिकाले वर्थिङ थप जनशक्ति पठाएर सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने पनि अध्यक्ष पौडेलले प्रतिबद्धता जनाएका छन्  ।

योसँगै पालिकाका ७ स्थानमा वर्थिङ सेन्टर संचालनमा आएका छन् । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघिनै वर्थिङ सेन्टर संचालनमा आइसकेका छन् । अव आर्थिक वर्षमै शम्शेरगन्जमा पनि वर्थिङ सेन्टर संचालनमा ल्याइने पालिका अध्यक्ष पौडेलको भनाइ छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिषा थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, वडाअध्यक्षहरु शालिकराम डाँगी, रामलखन थारु, सोहनलाल थारु, रेडक्रस राप्तीसोनारी शाखाका सभापति यज्ञनारायण शाह लगायतले वर्थिङ सेन्टर संचालनपछि आमा र नवजात शिशु मृत्युदरमा सुधार आउने विश्वास व्यक्त गरेका थिए ।

२६ लाख २४ हजार ९ सय ५८ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए । उनले वर्थिङ सेन्टर स्थापनापछि गर्भवतीहरुलाई सेवा लिन सहज भएको बताए। नेपाल रेडक्रस सोसाइटीको २४ लाख र पालिका र वडा कार्यालयको करिव एक लाखको सहयोगमा एम्वुलेन्स सेवा पनि संचालनमा ल्याइएको छ । 

आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले तीन जना पारामेडिक्स, दुई जना नर्स, एक जना सरसफाईकर्मी र एक जना कार्यालय सहयोगी गरी ७ जना कर्मचारी छन् । तर वर्थिङ सेन्टर संचालनपछि भने जनशक्तिको अभाव हुने अनमी तिलसरी घर्तिले बताइन ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ओपिडी, डट्स सेन्टर, कुपोषित बालबालिका उपचार केन्द्र, सुरक्षित मातृत्व लगायतका सेवा प्रवाह गर्दै आएको अहेव चेतनाथ थारुले जानकारी दिएका थिए।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्