महँगी नियन्त्रणमा निरन्तर लागिपरेको छु: मन्त्री रिजाल

सोमबार, असोज ८, २०८०

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले महँगी नियन्त्रणमा आफ्नो भरमग्दुर प्रयास रहेको बताएका छन् ।

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सरकारमा रहेर आफ्नो मन्त्रालयबाट भएको कार्यप्रगतिका बारेमा जानकारी गराउँदै मन्त्री रिजालले महँगी नियन्त्रणमा निरन्तर लागिपरेको बताए ।

उनले भने, “मेरो भरमग्दुर प्रयास छ, चिनीमा ठूलो हाहाकार मच्चिएको अवस्थामा १० हजार क्विन्टल सल्ट ट्रेडिङ र १० हजार क्विन्टल खाद्य संस्थानलाई बोलपत्र गरेर छिटो ल्याउनूस्, त्यसमा ५० प्रतिशत भन्सार छुट दिन्छ भनेको छु। पत्र पनि दिइसकेको अवस्था छ । मलाई लाग्छ दसैँ अगावै मूल्य नियन्त्रण गर्न हामी सक्षम हुन्छौँ।”

मन्त्री रिजालले मूल्य नियन्त्रणका लागि इन्डियाको वाणिज्यमन्त्रीसँग पनि धान, चामल र चिनीको विषयमा मैले कुरा गरेको र राजदूतसँग पनि चार-पाँच पटक भेटेर कुरा गरेको बैठकलाई जानकारी गराए ।

उनले अनुगमनको काम चलिरहेको बताउँदै पाँच-दश करोडको बदमासी गरे पनि तीन लाखसम्म मात्रै जरिमाना गर्न पाउने व्यवस्था रहेको र धेरै बदमासी गर्नेलाई धेरै जरिमाना गर्न कानुनी अड्चन रहेको बताए ।

मन्त्री रिजालले अर्बौं रुपैयाँ सरकारी लगानी गरेर केही वर्ष अघिसम्म फाइदामा चलेकाहरू अहिले घाटामा रहेको बताए । 

“सरकारले कतिसम्म लगानी गर्ने रु त्यहाँ जसलाई जे मन लाग्यो त्यही गर्ने, कुनै अनुशासनका कुरा छैनन्, ट्रेड युनियन र व्यवस्थापन मिल्ने, विना काम कार्यालय सहयागीले ‘ओटी’समेत गरेर ५०-६० हजार तलब खान्छ”, मन्त्री रिजाले भने । 

सरकारी लगानीमा चलेका उद्योगहरुलाई प्राइभेट पब्लिक पार्टनरशिपको अवधारणामा लैजाने सरकारको योजना रहेको मन्त्री रिजालले बताए । रासस।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्