एसियन गेम्स खेल्न जान लागेको नेपाली क्रिकेट टोलीको बिदाइ

आइतबार, असोज ७, २०८०

काठमाडौं । नेपाली क्रिकेट टोलीलाई चीनमा भइरहेको एसियन गेम्स खेल्नका लागि बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरूलाई बिदाइ गरेका हुन् । नेपालले यही २७ सेप्टेम्बरमा मङ्गोलिया र १ अक्टोबरमा मालदिभ्ससँग खेल्नेछ ।

नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलङ्का वा बङ्गलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धा गर्नेछ । बिदाइ कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरूको रहेको बताए । उनले मेडन हात पार्नका लागि सबै खेलाडी तयार रहेको बताए ।

उनले भने, ‘राम्रो अभ्यास गरेका छौँ । हामी सबैको लक्ष्य मेडल जित्ने छ । त्यसको लागि सम्पूर्ण खेलाडीहरू रेडी छौँ । आउने दिनमा एकदमै राम्रो गर्नेछौँ ।’

खेलाडीहरूलाई बिदाइ गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा सबैले देख्ने गरी मनोबल कमजोर नहुने गरी आफूहरू लाग्ने बताए । उनले नयाँ कार्यसमितिले खेलाडीको हौसला बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले नेपालले एसियाडमा हुने क्रिकेटमा मेडल जित्ने उच्च सम्भावना रहेको बताए । अध्यक्ष चन्दले क्रिकेट खेललाई नेपालमा धेरैले रुचाएको भन्दै थप मनोबल बढ्ने गरी खेल्न आग्रह गर्दै जितको शुभकामना दिए ।

कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको शुरुवात गर्ने प्रयासमा आफूहरू रहेको बताए । उनले कुनै पनि खेललाई सहज तरिकाबाट नलिन आग्रह गर्दै खेलले देश र जनतालाई एक ठाउँमा ल्याउने ठूलो भूमिका खेलेको बताए । देशलाई जिताउन नयाँ सोच र रणनीतिका साथ अघि बढ्ने बताए । उनले अहिलेको नेपालको लक्ष्य मेडल जित्ने रहेको बताए ।

नेपाली टिममा विकेटकिपर विनोद भण्डारी, आसिफ सेख, ब्याट्सम्यान कुशल भुर्तेल, रोहितकुमार पौडेल र सन्दीप जोरा, अलराण्डरमा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, फास्ट बलरमा सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा, स्पिनरमा सन्दीप लामिछाने रहेका छन् । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्