अझै तीन दिन भारी वर्षा

आइतबार, असोज ७, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै तीन दिन भारी वर्षा हुने जनाएको छ ।

विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एक- दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

राति कोशी, मधेस र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भू(भागका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

सोमबार कोशी, मधेस र बागमती प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र बागमती प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

महाशाखाले मेघ गर्जन चट्याङ र तराईमा हावा हुरीको जोखिम रहने हुँदा सोबाट हुन सक्ने क्षतिबाट बच्न आग्रह गरेको छ। 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्