कोशीमा नेकपा 'एस' लाई मनाउने प्रयासमा एमाले

शुक्रबार, असोज ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । संघीय सरकारमा नेपाली कांग्रेसको प्रमुख सहयोगमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका छन्। सात वटै प्रदेशमा संघीय सत्ता गठबन्धनको सहकार्य चलिरहेको छ ।

तर कोशी प्रदेशको सरकारमा भने सत्ता गठबन्धनको सहकार्य कठिन हुँदा दुई पटक एमाले प्रदेश संसदीय  दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका छन् । 

पछिल्लो पटक कोशी सरकारको नेतृत्व गरेका कार्कीले विश्वासको मत लिने समय अब १५ दिन मात्रै छ । गत भदौ २२ गते एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालतको परमादेशपछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए  ।

उनले संविधानको धारा १६८ (४)अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ तर आवश्यक सङ्ख्या अपुग रहेको छ । जुन अवस्था र व्यवस्थालाई टेकेर उनी मुख्यमन्त्री नियुक्ति भए त्यही व्यवस्था अनुसार विश्वासको मत लिँदा राप्रपाले साथ दिएमा उनको भागमा ४५जना सांसद सङ्ख्या पुग्नेछ । यसअघि ४६ जना हुँदा बराबरी थियो । विश्वासको मत पुर्‍याउन आवश्यक सङ्ख्या ४७ हुनुपर्नेछ । त्यो कांग्रेससहितका विपक्षसँग पनि छैन । 

विश्वासको मत लिने समय नजिकिँदै गर्दा एमालेले आफ्नो सरकार टिकाउन कांग्रेस र एमालेबाटै विभाजित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग छलफल गरिरहेको छ ।

संविधान दिवसको अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेशको अस्थिर राजनीतिले सङ्घीयताप्रति वितृष्णा बढाइरहेको भन्दै सबै मिल्नुको विकल्प नभएको धारणा राखेर विश्वासको मत दिन आग्रह गरेका थिए । सबै दलसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताइरहे पनि उनले र उनको पार्टी एमालेले माओवादी केन्द्रसँग भने अहिलेसम्म कुनै छलफल गरेको छैन । 

‘कोशीमा एमालेले यतिबेला एमालेबाटै बाहिरिएको नेकपा 'एस'लाई प्राथमिकतामा राखेको छ’, एमालेका एक सांसदले भने । तर संघीय सरकारमा कांग्रेस माओवादीको गठबन्धनमा रहेको नेकपा एस सजिलै एमालेलाई मत दिने पक्षमा रहेको छैन ।

‘एमालेले आधा आधा कार्यकाल गरौँ भन्ने प्रस्ताव गरेको छ’, एमालेका ती सांसदले भने । यद्यपि यो विषयमा नेकपा 'एस'का नेताहरू पनि जानकार रहेका छन्।

संघीय सरकारमा माधवकुमार नेपाल आफै प्रधानमन्त्री हुन खोजिरहेकाले कोशीमा उनकै विश्वासपात्र रहेका राजेन्द्र राईले एमालेलाई सहयोग गर्छन् भन्ने विश्वास कांग्रेस माओवादीका नेताहरूलाई छैन । तर एमालेले यो विषयमा निरन्तर पहल गरिरहेको छ ।

एमालेबाट यसअघिको सरकारमा प्रतिनिधित्व गरेका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीका अनुसार प्रयास गरेको भए पनि 'एस'ले मानेको अवस्था छैन । ‘हामीले कांग्रेससँग पनि सहकार्य गरौँ भनिरहेका छौ, 'एस'का साथीहरुसँग पनि छलफल गरिरहेका छौ’, पूर्वमन्त्री राजभण्डारीले भने । 

एमाले नेता शेरधन राईले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राईसँग धरानमा छलफल गरेका थिए । छलफलमा राईद्वयबीच प्रदेश सरकार कसरी टिकाउने विषयमा छलफल भएको थियो ।  त्यहाँ एमाले नेता राईले प्रदेशमा आलोपालोको प्रस्ताव गरेका  थिए ।

नेपाली कांग्रेससँग पनि एमाले नेताहरुले औपचारिक भन्दा अनौपचारिक रुपमा विभिन्न हिसाबले छलफल गरिरहेका छन् । पछिल्लो पटक यसअघि एमालेको गठबन्धनमा रहेको राप्रपाले विश्वासको मत दिने नदिने केही बताएको छैन । पहिलो पटक कार्की नेतृत्वमा सरकार गठन हुँदा राप्रपा पहिलो चरणमै सरकारमा सहभागी भएको थियो ।

यस्तै गठबन्धनले संविधान विपरीत सभामुखलाई सहभागी गराएर सरकार गठन भएको विषयमा राप्रपा पनि एमालेसँगै अदालत गएको थियो । यस पटक भने राप्रपा मौन मात्रै छ । साथै एमाले नेतृत्वको सरकारमा सहभागी पनि भएको छैन ।

कोशी प्रदेशमा एमालेको सरकार टिकाउने विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला झापा पुगेका छन् । उनले कोशी प्रदेशमा रहेका पार्टी शीर्ष नेताहरुसँग यो विषयमा छलफल गर्ने बताइएको छ । २०७९ पुस २४ मा प्रदेशसभाको दोस्रो कार्यकालको लागि कार्की पहिलो मुख्यमन्त्री बनेका थिए ।

त्यसबेला नेकपा माओवादी, जनता समाजवादी पार्टी, राप्रपा र जसपाको समर्थन थियो । उनी केन्द्रमा संयुक्त सरकार बनेपछि असार १५ मा पदमुक्त बनेका थिए पछि अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्ति भएका हुन ।हाम्राकुरा।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्