शिक्षकसँगको वार्ता आजै टुंगोमा पुर्याउनु कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

शुक्रबार, असोज ५, २०८०

काठमाडौं । आन्दोलनरत शिक्षकहरुसँगको वार्तालाई आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्देशन दिएका छन् । 

बुधबारदेखि विभिन्न माग राखी विरोध जनाउदै आन्दोलनरत  शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने कार्यवाहक प्रधानमन्त्री खड्काले निर्देशन दिएका हुन् ।

विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँ केन्द्रित विरोध गरिरहेका छन् ।

कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक निर्देशन दिनुभएको उनको सचिवालयले जनाएको छ । 

रक्षा मन्त्रालयमा आज बिहान उनले सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसँग छलफल गरेका थिए । 

आजको बैठकमा शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी  वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको थियो । शिक्षकहरुले आज तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्