नेपाली दुतावासद्धारा बेल्जियममा संविधान दिवसको अवसरमा बिशेष कार्यक्रम

शुक्रबार, असोज ५, २०८०

बेल्जियम । बेल्जियम, नेदरल्याण्ड र लग्जम्वर्ग तथा युरोपीयन युनियनका लागि नेपाली दूतावास (बेनेलुक्स) ले संविधान दिवसको अवसर पारेर ब्रसेल्समा एक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै युरोपियन युनियनको एसिया प्यासेफिक विभाग तथा युरोपियन वाह्य कार्य सेवा विभागकी उपप्रबन्ध निर्देशक पावला पाम्पालोनीले संविधान दिवसको उपलक्ष्यमा सबै नेपालीहरुलाई बधाई दिदै नेपालको संविधान एउटा प्रगतिशील संविधानमात्र नभै यस्ले नेपाल र नेपालीहरुको सम्वृद्धि र दिगो विकासका लागि महत्वपूर्ण भएको बताइन् । 

उनले नेपाल प्राकृतिक रुपले अत्यन्तै सुन्दरमात्र हैन, त्यहाँका आम नागरिकहरु प्रदान गर्ने आतिथ्यता, सत्कार, व्यवहारले विदेशी पर्यटकहरुलाई मोहित गर्ने भएको हुँदा युरोयिन युनियन र यसका सदस्य राष्ट्रहरुले यसतर्फ पनि लगानी बढाउँदै गरेको बताइन्।

पाम्पालोनीले युरोपियन युनियन र नेपालको कुटनैतिक सम्वन्ध र सहयोग स्थापित भएको पचास बर्ष पुगेको अवसरमा संघले आगामी बर्ष संयुक्त रुपमा मनाउन थालेको जानकारी दिदै उक्त बिषय मित्रता र साझेदारीका लागि कोशेढुंगा सावित हुने बताइन् । 

उनले नेपालको शैक्षिक क्षेत्रमा पनि संघले लगानी गरिरहेको जानकारी दिदै, युरोपियन मूलुकहरुमा ६ सय भन्दा बढि नेपाली विद्मार्थीहरुले उच्च शिक्षाको अध्ययन गरिरहेको र नेपालको गुणस्तरीय शिक्षा, सहयोग र उद्ममशीलताको विकासलागि विश्व विद्मालयहरुसंग सहकार्य गरिने बताएकी हुन्  ।   

पाम्पालोनीले गत हप्ता निधन भएका संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई स्मरण गर्दै नेपालको संविधान निर्माणमा उहाँको अत्यन्तै मह्त्वपूर्ण भूमिका रहेको पनि  स्मरण गराइन।

कार्यक्रममा बेल्जियम, नेदरल्याण्ड र लग्जम्वर्ग तथा यूरोपियन यूनियनका लागी नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले सबैलाई संविधान दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गर्दै नेपालको संविधानले एकिकृत लोकतन्त्र, विधिको शासन, बहुलवाद, सबै तहको सहभागिता रहेको जनउत्तरदायी सरकार, सामाजिक र आर्थिक न्याय लगायत संसारभरी मान्दै स्थापित भएको मानव अधिकार जस्ता विषयहरु प्रत्याभूत गराएको जानकारी दिए। 

राजदूत राजभण्डारीले युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरु विगतमा गरेको सहयोगको स्मरण गर्दै नेपालको पर्यटन, व्यापार, लगानी र विकासका लागि दुई पक्षिय र बहुपक्षीय साझेदार भएमा आभार प्रकट गर्दै यस प्रकारका सहयोग नेपाललाई निरन्तर आवश्यक रहेको बताए । 

भण्डारीले कोभिडका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई माथि उकास्न यस क्षेत्रमा लगानी र एक पटक नेपालको भ्रमण गर्न उपस्थित सबै अतिथि लगायत सर्बसाधरणलाई आग्रह गरेका छन् ।   

कार्यक्रममा एसिया लगायत युरोपियन मूलकुका राजदुत, बेल्जियम, नेदरल्याण्ड र लग्जम्वर्ग स्थित नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवि लगायत नेपालमा विभिन्न परियोजना मार्फत लगानी गरिरहेका र नेपालको दर्जनौ पटक भ्रमण गरेको बिदेशी पाहुनाहरुको उल्लखेख्य सहभागिता रहेको थियो । 

कार्यक्रमको शुभारम्भमा युरोपेली संघ, बेल्जियम र नेपालको राष्ट्रीय गीत बजाईएको थियो भने औपचारिक कार्यक्रम पश्चात बेल्जियम स्थित नेपाली कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेको थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्