आन्दोलनरत शिक्षक र सरकारबीच आज फेरि वार्ता हुँदै

शुक्रबार, असोज ५, २०८०

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज फेरि वार्ता हुँदैछ । बिहीबार साँझ सहमति हुन नसकेपछि आज फेरि वार्ता बस्न लागेको हो । 

कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङका अनुसार आज बस्ने वार्तामा सहमति हुनेछ । उनले भने “उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर बिहीबार छलफल भएको छ । शुक्रबार बिहानसम्म टुङ्गिन्छ।'

हिजोको वार्तामा शिक्षकका मागमाथि रहेर बुँदागत छलफल भएको थियो ।

संसदमा वदर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि बिहीबारको छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए । 

बिहीबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा. प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए । 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्